सुकुम्बासी बस्तीमाथि हस्तक्षेप नगर्न निर्देशन दिएको छु, ‘प्रधानमन्त्री’

भदौ ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैकल्पिक व्यवस्थाबिना देशैभरका सुकुम्बासी बस्तीमाथि हस्तक्षेप नगर्न सरकारका सबै संयन्त्रलाई निर्देशन दिइसकेको बताउनुभएको छ ।
शनिबार साँझ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलको नेतृत्वमा आएको माओवादी केन्द्रनिकट अखिल नेपाल सुकुम्बासी संघको प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सुकुम्बासी बस्ती उठाउन खोज्ने, बत्ती पानीको सुविधाबाट बञ्चित गर्नेजस्ता कामहरु तत्काल बन्द गर्न मैले निर्देशन दिइसकेको छु । कहीँकतै निर्देशन पालना नभएको भए मलाई जानकारी दिनुहोला ।’ प्रधानमन्त्रीले वर्षात्को समयमा बैकल्पिक व्यवस्था सम्भव नभएकाले सुकुम्बासी बस्तीमाथि भौतिक र मनोवैज्ञानिक हस्तक्षेप नगर्न निर्देशन दिएको जानकारी दिँदै छिट्टै सरकारले उचित व्यवस्थापन गर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘राज्यले जमिनको व्यवस्था गरेर सुकुम्बासी समस्या समाधान गर्नुपर्छ । सुकुम्बासीलाई जमिनको व्यवस्था गर्न, सुकुम्बासी बस्तीमा बत्ती, पानी, बाटोजस्ता अत्यावश्यक सुविधा सहज बनाउन र भूकम्पपीडित सुकुम्बासीलाई जग्गा धनी प्रमाणपत्र बिना नै राहत रकम उपलब्ध गराउन सरकारले आवश्यक निर्णय गर्नेछ ।’
प्रधानमन्त्रीले ‘गरीबका लागि सरकार’को कार्ययोजना उत्पीडितका पक्षमा काम गर्ने प्रतिवद्धतासहित आएको जानकारी दिँदै शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सुकुम्बासी लगायतका उत्पीडित समुदायलाई प्राथमिकता दिइने बताउनुभयो ।
भेटमा सुकुम्बासी प्रतिनिधिहरुले सुकुम्बासीलाई भौगोलिक मापदण्डअनुसार जमिन वितरण गर्न, उच्चस्तरीय आयोगमार्फत् सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न, भूकम्पपीडित सुकुम्बासीलाई सहज रुपमा राहत उपलब्ध गराउन, विकासका आधारभूत पूर्वाधारको व्यवस्था गर्न, सुकुम्बासीका सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कात्तिक ७, २०८१ बुधबार १५:९:१