सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने छलफल छः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि आज बिहानै धनगढी आइपुगेका अध्यक्ष प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारमा कांग्रेस समेत सहभागी हुने विषयमा गठबन्धनका दलहरुबीच कुराकानी भइरहेको बताउनुभएको हो ।

‘गठबन्धनमा यो विषयमा छलफल भएको छ ।’ उहाँले भन्नुभयो, ‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो । तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ ।’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको समेत प्रचण्डले जनाउनुभयो । प्रदेश सरकारको नेतृत्व फेर्ने विषयमा समेत गठबन्धनमा छलफल भएको उहाँले बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ९:१:८