सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाका बनाउन अध्यक्ष प्रचण्डको अपील

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डको सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधारइलाका बनाउन अपील गर्नुभएको छ । सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘ नयाँ विचार, पार्टी र समाजवादको नयाँ मोडेल निर्माण गर्ने विषयमा फेरी सुदूरपश्चिमले बीरता, क्षमता र संघर्षका नयाँ कीर्तिमान कायम गर्नुपर्ने छ ।’ अध्यक्षले एकदिन दुईदिन हैन, इतिहासदेखि नै सुदूरपश्चिमलाई राज्यबाट काठमाडौंले जसरी विभेद र अपमानका साथ हेर्यो, त्यसलाई उल्ट्याउनु उचित हुने बताउनुभयो ।

उहाँले आफूहरुले एकहदसम्म संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत समानुपातिक समावेशी प्रतिनिधित्व स्थापित गरेर सुदूरपश्चिमलाई प्रदेशको मान्यता दिने काम गरेको भएपनि पूर्ण नभएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समाजवादको यात्रामा अगाडि नबढेसम्म सयौंवर्षदेखि कायम विभेद र अपमानको अन्त्इ हुने र सुपले नेपालमा समुचित अधिकारसहितको सम्मान प्राप्त हुने प्रक्रिया पुरा हुने छैन ।’

अध्यक्ष प्रचण्डले समाजवादको आधार निर्माण गर्ने, आधारइलाकाको रुपमा यो प्रदेशलाई विकसित गर्ने र काठमाडौंलाई सन्देश दिने जिम्मेवारी आफूहरुको काँधमा आएको छ ।

‘हिजो जनवादी क्रान्तिमा सुदूरपश्चिमले त्यो विशिष्ट भूमिका नखेलेको भए नेपालमा संघीय गणतन्त्रको स्थापना हुने थिएन । त्यसैले त्यो बेलाजस्तै अहिले फेरि समाजवादी आन्दोलन र क्रान्तिका लागि संकल्प गर्नुपर्ने अवस्था आएको छ, उहाँले भन्नुभयो । उहाँले अब नयाँ विचार, पार्टी र समाजवादको नयाँ मोडेल निर्माण गर्ने विषयमा फेरि सुदूरपश्चिमले वीरता, क्षमता र संघर्षका नयाँ कीर्तिमान कायम गर्नुपर्ने बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १३:४:१९