‘सुशासन, स्थायित्व र विकास इतिहासको माग र जनताको अपेक्षा बनेको छ’, प्रचण्ड

काठमाडौं, माघ २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुसाशन, स्थायित्व र विकासको युग प्रारम्भ भएको बताउनु भएको छ ।

नेपाल ट्रेकिङ एशोसिएसन (टान) ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थायित्व र विकासका लागि पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको ठूलो भूमिका भएको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “अहिले हामी नेपाली राजनीतिको विशिष्ट मोडमा छौं, स्थानीय प्रादेशिक र संघीय निर्वाच्नपछि अब हामी राजनीतिक दल र नेपाली जनता, पर्यटन व्यवसायी सबै संघसंस्थाले पनि देशमा सुशासन होस्, स्थायित्व होस्, विकास र समृद्धिको नयाँ यात्रा प्रारम्भ गरोस भन्ने चाहेका छन् यो इतिहासको मागका रुपमा आएको छ ।”

निर्वाचनमार्फत नेपाली जनताले स्थायित्व र विकासको चाहना खोजेको बताउँदै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकताको आवश्यकतामा जोड दिनुभयो । “सुशासन, स्थायित्व र विकासका लागि सबै राजनीतिक दल, आम जनता र व्यवसायी सबैबीच राष्ट्रिय एकताको आवश्यकता छ ।’ वहाँले भन्नुभयो ।

ल्होसारको शुभकामना दिँदै कार्यक्रममा अध्यक्षले पर्यटन क्षेत्रका समस्याहरुमा आफू गम्भीर रहेको बताउनुभयो ।

सडक सञ्चालनले ट्रेकिङ क्षेत्रमा के कस्तो असर परेको छ ? राज्यका नीति नियम के कस्ता छन र तिनमा के कस्तो सुधार आवश्यक छ भन्ने विषयमा आफूले टानका पदाधिकारीहरुसँग छलफल गरेको बताउँदै अध्यक्ष प्रचण्डल राज्यका तर्फबाट आवश्यकता अनुरुप नीति नियममा परिमार्जन र सुधारको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कात्तिक ८, २०८१ बिहीबार १७:१३:१७