सेवा प्रदायक कार्यालय थप्न प्रधानमन्त्रीको निर्देशन

५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यातायात सम्बन्धि कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिनुभएको छ ।
सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र यातायात सचिवलाई निवासमा बोलाएर प्रधानमन्त्रीले यथाशिघ्र सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘उपत्यकामा सवारी चालक अनुमति पत्र, लाइसेन्स, बिलबुकको नवीकरण, रुट परमिट लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन उपत्यकामा भक्तपुरमा १ र काठमाडौंमा थप २ कार्यालय थपेर छिटो सेवा दिने व्यवस्था गर्नुहोस् ।’
प्रधानमन्त्रीले ‘सवारी चालक अनुमति पत्रको लिखित परीक्षाका लागि स्कूल, कलेजको घर भाडामा लिएर एकैचोटी चार, पाँच हजारको संख्यामा परीक्षा दिन सकिने व्यवस्था गर्न, अनलाइन फारमको व्यवस्था गर्न, नवीकरण, रुट परमिट लगायतका कामलाई अनलाइन प्रणालीबाट प्रारम्भ गर्न, कलेजका स्वयम्सेवा गर्न चाहने विद्यार्थीहरुलाई अभिमूखीकरण तालिम दिएर काममा खट्नसक्ने व्यवस्था गर्न’ पनि निर्देशन दिनुभएको छ । भेटमा मन्त्री लेखकले आवश्यक गृहकार्य गरेर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्रीको चार बुंदे निर्देशन :
१) यातायात व्यवस्थाको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन भक्तपुरमा १ र काठमाडौंमा थप २ कार्यालय सञ्चालन गरी ४ ठाउँबाट सेवा प्रदान गर्ने व्यवस्था गर्ने,
२. लाइसेन्स लगायतका यातायात सम्बन्धि कामका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गर्ने,
३. लाइसेन्सको लिखित परीक्षाका लागि स्कूल÷कलेजको घर भाडामा लिएर ४÷५ हजार जनालाई एकैचोटी परीक्षा लिने व्यवस्था गर्ने,
४. कलेजका स्वयम्सेवा गर्न चाहने विद्यार्थीलाई एक दिनको अभिमूखीकरण तालिम दिएर जनसम्पर्क हुने काममा खट्नसक्ने व्यवस्था गर्ने ।

कात्तिक ७, २०८१ बुधबार २१:१६:३०