स्थानीय सरकारलाई समाजवादी सत्ताको भ्रुणका रुपमा विकास गर्न अध्यक्ष प्रचण्डको निर्देशन

कास्की । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय सरकारलाई समाजवादी सत्ताको भ्रुणका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । अध्यक्षले स्थानीय पालिकाहरुमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै यस्तो बताउभएको हो । उहाँले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने बताउनुभयो ।

अध्यक्षले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले प्रमुख जितेका पालिकाहरुलाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भूर्णका रुपमा विकास गर्ने उद्धेश्यमा स्पष्ट हुँदै त्यसका लागि त्याग, तपस्या र मेहनत गरेर काम गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,“हामीले विजय हासिल गरेका १२१ पलिकाहरुलाई समाजवादी सत्ताका भूर्णहरु बनाउने र पालिकाहरुमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ । म तपाईहरुलाई भन्न चाहन्छु, पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राज बुझ्ने मेकानिजम बनाउनुहोला, के गर्न उचित हुन्छ,सुझाव लिनुहोला । अध्यक्षले माओवादीले जितेको पालिकामा जनताको राय सल्लाह लिएर निर्णय गर्ने गरेका छन् भन्ने पार्ने गरी काम गर्न निर्देशन दिनुभयो । माओवादी पाार्टी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको उहाँको भनाई थियो ।

कात्तिक ७, २०८१ बुधबार १५:८:७