स्ववियू निर्वाचन जनमत नाप्ने ब्यारोमिटर, ‘प्रधानमन्त्री’

पौष २८, काठमाडौं । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन जनमत नाप्ने ब्यारोमिटर हुने बताउनु भएको छ । अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
बैठकमा बोल्दै प्रचण्डले भन्नुभयो, ‘लामो समयदेखि स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नहुँदा विद्यार्थी राजनीतिमा गतिरोध पैदा भएको छ । गतिरोधको अन्त्य गर्न र विद्यार्थी राजनीतिमा नयाँ पुस्ता र सोंचको विकासका लागि पनि स्ववियू निर्वाचन गर्न आवश्यक छ । हामी स्थानीय निर्वाचनको दिशामा जाँदैछौं, स्थानीय निर्वाचनपूर्व हुने स्ववियू निर्वाचन दलहरुका लागि जनमत नाप्ने ब्यारोमिटर हो, त्यही सोंच र जिम्मेवारीबोध सहित निर्वाचनको तयारी गर्नुस् ।’
स्ववियू निर्वाचनमा क्रान्तिकारीको एजेण्डाले जितेको स्मरण गराउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘स्ववियू निर्वाचनमा २८ वर्षे उमेर हद तपाईहरुको एजेण्डा हो, त्यही उमेर हदको व्यवस्थासहित निर्वाचन हुँदैछ । एजेण्डामा तपाईहरुले जित्नुभएको छ । अब जनमतमा जित्न अझै मेहेनत गर्नुस्, तपाईहरुको मेहेनतको प्रतिफल सुखद् नै हुन्छ भन्ने मलाई विश्वास छ ।’
बैठकमा क्रान्तिकारीका नेताहरु नरेन्द्र न्यौपाने, अनिल शर्मा, रामचन्द्र अधिकारी, मदन अर्याल, रञ्जित तामाङ, बीरेन्द्र बस्नेत लगायतका नेताहरुले विद्यार्थी राजनीतिको अवस्था र स्ववियू निर्वाचनबारे रिपोर्ट राख्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार ७:१०:३४