‘हामी सबैले गल्ती सच्याउने संकल्प ग-यौँ भने नयाँ नेपाल त्यहीँबाट निर्माण हुन्छ’ (भिडियाेसहित)

चितवन, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सबैले गल्ती सच्याउने संकल्प ग-यौँ भने नयाँ नेपालको निर्माण त्यहीँबाट हुने बताउनु भएकाे छ । निर्माण व्यवसायी संघ चितवनको २५ औँ साधारण सभालाई आज बुधबार चितवनको भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएकाे हाे ।

यातायात क्षेत्रको सिण्डिकेटपछि अब निर्माण क्षेत्रको सिण्डिकेट पनि तोडिने अध्यक्ष प्रचण्डकाे भनार्इ थियाे। अध्यक्षले भन्नुभयाे, ‘एउटै ठूलो ठेकेदारलाई ठेक्का दिँदा भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने देखियो । यो सेटिङ तोडेर निर्माण क्षेत्रको सिण्डिकेट तोडिन्छ अब ।’

आधा दर्जन पुल एउटै ठेकेदारलाई ठेक्कामा दिँदा समयमा काम पूरा नहुने समस्या आएको उहाँको भनाइ थियो । ‘एउटैले चारैतिर ओगटेको छ, काम पनि हुँदैन,’ प्रचण्डले भन्नुभयाे, ‘साना निर्माण व्यवसायी रोएर हिँडेका छन् । ठूलाले एकाधिकार जमाएका छन् । यो एकाधिकार तोड्ने काम अब सुरु हुनेछ ।’

भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उहाँले हर्जाना नलगाइकन एक वर्ष समय थप्नेबारे आफूले पहल गर्ने आश्वासन दिनुभयाे । व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयाे ।

‘निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति विगतमा देखियो । पुराना नराम्रा कुरालाई क्षमादान दिएर बिर्सनु पर्छ । अब हामी नयाँ युगतिर जाँदैछौँ,’ प्रचण्डले भने, ‘त्यसैले भएका गल्तीहरु नदोहोरिऊन् भनी सुधार गर्नुपर्छ ।’

व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै अध्यक्षले भन्नुभयाे, ‘निजी क्षेत्र नाफाकै लागि व्यवसाय गर्छन् । राज्यले नाफा कमाउने स्वतन्त्रताको ग्यारेण्टी गर्नुपर्छ । निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि आउँदैन ।’

कात्तिक ७, २०८१ बुधबार १५:१६:२८