हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छः अध्यक्ष प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादकाे लक्ष्य पुरा गर्न अर्को आन्दोलन, अभियान र मिसन चाहिएको बताउनुभएकाे छ । दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले एउटा शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने अर्को आन्दोलनको आवश्यकता रहेको समेत औल्याउनुभयाे। उहाँले नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको औंल्याउँदै तर अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको उल्लेख गर्नुभयाे।

‘जतिबेला हामी खुला र प्रतिस्पर्धामा प्रवेश गर्‍यौँ, शासन सत्तामा पुग्यौँ कता कता हामी आदर्श, विचार र निष्ठाबाट बिस्तारै थाहै नदिन स्खलित हुँदै जाने प्रक्रिया सुरु भयो। नाम त अहिले पनि हाम्रो कम्युनिस्ट पार्टी नै छ, के हामी साँच्चै कम्युनिस्ट जस्ता छौँ त ?’ उहाँले प्रश्न गर्दै भन्नुभयाे, ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो। हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ।’

‘पदक लागि गुट/उपगुट बनाएर लडौं भनेर होइन नयाँ र अभियानतिर जाऔं भन्नका लागि एकता गरेको हो। तर अहिले आदर्शच्यूत र स्खलित हुने अवस्था आयो,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे,‘ भिन्न तरिकाले जान लाग्यो भने त्यसलाई सुधार्नुपर्छ।’

नयाँ समाजवादी व्यवस्था र संस्कृति स्थापना गरी कम्युनिष्ट पार्टीलाई जनताको सेवकका रूपमा स्थापित गर्न नयाँ मिसन र उद्देश्यका साथ आन्दोलन गर्नुपर्नेमा उनले जोड दिनुभयाे। ‘भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं, के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त?’, उहाँले भन्नुभयाे।

माघ ६, २०८१ आइतबार १४:४१:४१