हामीले संसदीय व्यवस्था स्वीकार गरेका छैनौं, ‘प्रधानमन्त्री’

असोज १४, काठमाडौं । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) ले संसदीय व्यवस्थालाई स्वीकार नगरेको बताउनु भएको छ ।
शुक्रबार प्रेस सेन्टर नेपालको एकता महाधिवेशनको बन्द शत्रमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हिजो बन्दुक अग्रमोर्चामा थियो, अहिले अग्रमोर्चामा कलम आइपुगेको छ । हाम्रो पार्टीको कार्यदिशा स्पष्ट छ । संक्रमणकालीन अवस्था र संविधान प्रतिको जिम्मेवारी बोध गर्दै हामीले संसदीय व्यवस्थामा सम्झौता गरेका छौं । तर, संसदीय व्यवस्था स्वीकार गरेका छैनौं । कार्यकारी राष्ट्रपतिसहितको प्रत्यक्ष निर्वाचनले मात्रै देशको स्थिरता र विकासलाई सम्बोधन गर्न सक्छ । यसलाई तपाईहरुले गम्भीरपूर्वक लिएर कलम चलाउन अनुरोध गर्दछु ।’ प्रधानमन्त्रीले पार्टी एकताका बेला गरिएको १३ बुंदे सहमतिको अन्तर्वस्तु नै अहिलेको पार्टी कार्यदिशा भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीले सरकार जनताको पक्षमा रहेको बताउँदै गरीबका लागि सरकार कार्यक्रम त्यसैको सांकेतिक रुप भएको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार गरीबको पक्षमा काम गर्न चाहन्छ । गरीबका लागि सरकारको अर्थ गरीबीमूनी रहेका जनताको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, रोजगारीमा प्राथमिकता दिनु हो । धेरै गर्न सकिने परिस्थिति नभएपनि अन्तिमसम्म जनता र श्रमजीवीको पक्षमा काम गर्न सरकार क्रियाशील छ ।’
कार्यक्रममा माओवादी केन्द्रका पम्फा भुसालले श्रमजीवी पत्रकारहरुको हितका पक्षमा माओवादी केन्द्र रहेको बताउँदै कलमलाई जनताको पक्षमा उपयोग गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

कात्तिक १०, २०८१ शनिबार १८:१७:१७