‘हामीले १० वर्षमै आर्थिक चमत्कार गर्न सक्छौं’ (भिडियाे)

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएकाे उल्लेख गर्नुभएकाे छ । राजधानीमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं।’

देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने उहाँकाे भनाई थियाे ।  देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि भएको बताउनुहुँदै अध्यक्षले भन्नुभयाे, “पछाडि धकेलिँदै गएको देशको अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्छ। कृषिपछि जलविद्युत, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्छ।”


उहाँले युवाहरू उद्यमशील हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताउनुभयाे । धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै अध्यक्ष प्रचण्डले समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरूको आत्मसम्मान कायम हुने सम्पत्ति आर्जन गर्न युवाहरूलाई आग्रह गर्नुभयाे। उहाँले लक्ष्य प्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिनुभयाे। अध्यक्षले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने बताउनुभयाे। राजनीतिक एजेन्डामा अब अल्झिरहने अवस्था नरहेकाले देशलाई विकासको मार्गमा लानुपर्ने उहाँकाे भनाई थियाे।

 

असोज ३, २०८१ बिहीबार २२:०:३