पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबीको दर घटाउँदै प्रोटिन लगायत पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएकाे छ। शनिवार काठमाडौंमा ‘राइट टु प्रोटेन रन’ हाफ म्याराथुन पुरस्कार वितरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पग्न नसकेको बताउनुभयाे ।

उहाँले प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको उल्लेख गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे– ‘तथ्यांकअनुसार सन् २०१९ मा ३२ प्रतिशत ५ वर्ष मुनिका बच्चाहरुले उमेर अनुसारको उचाई प्राप्त गर्न सकेनन् खास गरी उमेर अनुसार जति प्रोटिनको आवश्यकता हुन्छ, सोअनुसारको उपलब्धता हुन नसक्दा यस्ता समस्याहरु हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ । पुड्कोपना र कुपोषणको समस्याबाट विशेष गरी गरीबीको रेखामुनि रहेका आमजनसमुदाय बढी पीडित रहेको पाइन्छ ।’

उहाँले पहिलो १००० दिनमा बालबालिकाहरुलाई उपलब्ध हने पोषणले उनीहरुको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको बताउनुभयाे । गर्भवती महिला र नवजात शिशुहरुलाई लक्षित गरी स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु समेत नेपाल सरकारले सञ्चालन गरिरहेको उहाँले बताउनुभयाे। पोल्ट्री उद्योगले अण्डा र ब्रोइलरको मासुमार्फत प्रोटिनको सस्तो आपूर्तिमा योगदान पुर्याएकोमा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकोमा पोल्ट्री उद्योगका उद्यमी र कृषकहरुलाई धन्यवाद दिनुभयाे ।

प्रधानमन्त्री प्रचण्डले नेपालका सम्पूर्ण पशु चिकित्सकहरुको छाता संगठन नेपाल भेटेरिनरी एशोसिएसनले नेपाल दाना उद्योग संघ र सम्बन्धित सरोकारवालाहरुको सहभागितामा प्रोटिन माथिको अधिकारलाई स्थापित गर्ने उद्देश्यले हाफ म्याराथन लगायतका दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकोमा बधाई ज्ञापन समेत गर्नुभएकाे थियाे।

असोज ३, २०८१ बिहीबार २२:९:२२