हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । बुटबलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘ हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन ।’
प्रधानमन्त्रीले सरकार इमानदारीपूर्वक विकास र समृद्धिको यात्रामा अग्रसर हुँदा, विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरूमा सहमति, सहकार्य र एकता कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव छैन भन्ने दृष्टान्तका लागि आफ्नो दोस्रो प्रधानमन्त्रीकाल नै पर्याप्त रहेको धारणा राख्नुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । तर पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हावी हुनु दुःखद् हो । कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थीर रहन्छ ।’
उहाँले उच्च मुद्रास्फीति र अस्थीर व्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने विश्वास दिलाउनुभयो ।


लुम्बिनी केबलकारको उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले गर्नुभएको सम्बोधन
(२५ जेठ २०८०, काठमाडौँ)

यस कार्यक्रमका अध्यक्ष एवं लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालज्यू,
लुम्बिनी प्रदेशका प्रदेश प्रमुखज्यू,
माननीय मन्त्रीज्यू,
मुख्यमन्त्रीज्यू,
माननीय सांसदज्यूहरू,
उद्योगी–व्यवसायी महानुभावहरू,
केबलकारका सञ्चालक तथा पदाधिकारीहरू
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू ।
लुम्बिनी प्रदेशमा बनेको यो पहिलो केबलकारको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । गत महिनामात्र नवलपुरको मौलाकाली केवलकारको उद्घाटनपछि आज यो अवसर पाउँदा अर्को खुसी थपिएको महसुस गरेको छु ।
देशको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट चन्द्र ढकालजीको नेतृत्वमा आइएमई ग्रुपको अगुवाइमा यी विशाल पर्यटकीय पूर्वाधारहरू निर्माण भएबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको सकारात्मक सन्देश गएको महसुुस मैले गरेको छु । मुलुकको अर्थतन्त्रले हिजोआज अप्ठेरा दिनहरूको सामना गरिरहेका बेला यहाँहरूले निर्माण गरेका यस्ता आयोजनाले यहाँहरू जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि सफलतापूर्वक काम गर्न सक्नुहुन्छ भन्ने सन्देश देशव्यापी रूपमा नै राम्रैसँग प्रवाह भएको छ ।
रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको यस पर्यटकीय पूर्वाधारले यहाँको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्न सकोस् भनी शुभकामना दिन चाहन्छु ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीजस्तो महत्वपूर्ण स्थानमा केवलकार तथा पाँचतारे होटलसहित अन्य पर्यटकीय संरचनाहरू निर्माण गर्दा यहाँको स्थानीय मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने अपेक्षा मैले गरेको छु । नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाइ पनि लम्ब्याउन सकिने भएकाले लुम्बिनी केवलकार निर्माणमा सहभागी आइएमई ग्रुप तथा यसमा संलग्न सबै लगानीकर्ता तथा स्थानीय नागरिकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।
लुम्बिनीकोे पर्यावरणीय महत्वलाई कायमै राखेर यहाँका स्थानीय नागरिकहरूको पनि साझेदारीमा काम गर्न र उनीहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरूमार्फत् स्थानीय तथा समग्र देशले नै समृद्धि हासिल गर्ने काममा यहाँहरू लाग्नु नै हुनेछ भन्ने मेरो विश्वास छ ।
वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग साथ साथ अघि बढ्ने नीति लिएको त यहाँ उपस्थित लगानीकर्ता एवं मुलुकको निजी क्षेत्रका प्रतिनिधिहरूलाई अवगत नै होला । म आफै पनि देशको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले उनीहरूलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको कुरा यस्तै मञ्चहरूमा भन्दै आएकै छु ।
कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन मलाई लाग्छ एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको छ । महामारीको मारमा परेका व्यवसायीहरूलाई राहात दिनेगरी तथा शिथिल बन्न पुगेको मुलुकको अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी निजी क्षेत्रका साथीहरूकै सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेटेको छ ।
सरकारले यसअघि पनि आर्थिक प्याकेजका कार्यक्रमहरू ल्याएर देशको निजी क्षेत्रलाई कुनै न कुनै रुपमा राहातको घोषणा गरेको थियो । यी दृष्टान्तहरूले वर्तमान सरकार निजी क्षेत्रको साथमा छ र उनीहरूसँगको सहकार्यबाट अघि बढ्न चाहन्छ भन्ने स्पष्ट हुन्छ ।
पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिनेछ । मुलुकभित्रै रोजगारीको अवस्था सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तनको क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्दछ भन्ने मेरो धारणा हो ।
अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको छ । यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । तर पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हावी हुनु दुःखद हो । कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थीर रहन्छ । उच्च मुद्रास्फीति र अस्थीर व्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने विश्वास दिलाउन चाहन्छु ।
हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन । सरकार इमानदारीपूर्वक विकास र समृद्धिको यात्रामा अग्रसर हुँदा, विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरूमा सहमति, सहकार्य र एकता कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव छैन भन्ने दृष्टान्तका लागि मेरो दोस्रो प्रधानमन्त्रीकाल नै पर्याप्त छ ।
झण्डै ऋणात्मक दिशामा रहेको अर्थतन्त्रमा गुणात्मक सुधार ल्याई ७.५ प्रतिशतको आर्थिक वृद्धि, उज्यालो नेपालको स्थापना, राष्ट्रिय गौरवका आयोजना लगायत पूर्वाधार क्षेत्रमा गुणात्मक विकास, असहमतिको राजनीतिबाट सहमति, सहकार्य र एकताको आधार निर्माणजस्ता जे–जस्ता उपलब्धि त्यस कार्यकालमा हासिल भए, त्यसले प्रष्ट गर्छ– साझा संकल्पका साथ सबैको सकारात्मक र रचनात्मक सहकार्य र सहयोग हुँदा फेरि पनि विकास र समृद्धिमा गुणात्मक सुधार ल्याउन सकिन्छ । यसपटक म प्रधानमन्त्री बन्दै गर्दा देशको अर्थतन्त्र झण्डै झण्डै दुर्घटनाकै अवस्थामा थियो भन्दा हुन्छ । तर करिव ६ महिनामा दुर्घटनाग्रस्त अर्थतन्त्रले लय समात्नु र समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार आउनुमा सरकारको यही संकल्प र इमानदार प्रयास जिम्मेवार छ ।
वर्तमान सरकारले स्वदेशी तथा वैदेशिक लगानीका लागि सदैव आह्वान गर्ने गरेको छ । हालसालै भारतको औपचारिक भ्रमणका क्रममा पनि हामीले नेपालमा लगानीका लागि भारतीय उद्योगी व्यवसायीहरूलाई आह्वान गरेका थियौँ । नेपालमा लगानीका सम्भावना नै सम्भावना रहेकाले यहाँ आई लगानी गरेर प्रतिफल लिन नेपालका उद्योगी व्यवसायीलाई मैले आग्रह गरेको थिएँ ।
सो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीजीले नै नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा भएबाट अब नेपालमा हाइड्रोपावरका क्षेत्रमा लगानीको बाटो खुलेको महसुस हामीले गरेका छौँ । यो अवसरबाट लाभ लिन म नेपाली र विदेशी सबै लगानीकर्ताहरूलाई यसै अवसरमा आह्वान पनि गर्दछु ।
वर्तमान सरकार र व्यक्तिगत रूपमा म निजी क्षेत्रसँगको सहकार्य बिना देशमा समृद्धि सम्भव छैन भन्नेमा प्रष्ट छु । त्यसैले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा पर्ने जस्तासुकै समस्याहरूको हल गर्न यो सरकार सदैव तत्पर छ ।
धन्यवाद !

असोज ७, २०८१ सोमबार १५:५:२०