हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्नेछु, ‘प्रधानमन्त्री’

कार्तिक २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको स्वीकार्यता बढाएर हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्ने बताउनुभएको छ ।
शुक्रबार आफू निर्वाचित भएको क्षेत्र सिरहा—५, मिर्चैयामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधानको स्वीकार्यता बढाएर मधेशको माग सम्बोधन गरेर मात्रै राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । कुनै जाति, क्षेत्र विशेषलाई काखी च्यापेर कुनै जाति, क्षेत्र विशेषलाई उपेक्षा गरेर राष्ट्रिय एकता हासिल हुन सक्दैन । मेरो प्रयास हिमाल, पहाड र तराईलाई मिलाएर राष्ट्रिय एकता हासिल गर्ने र निर्वाचनमार्फत् संविधान कार्यान्वयन गर्नेमा छ । म हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्न चाहन्छु ।’
प्रधानमन्त्रीले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै भन्नुभयो, ‘मैले मधेशवादी दलका नेताहरुको पनि विश्वास लिएको छु । प्रचण्ड मधेशको पक्षमा छैन भन्ने साथीहरु पनि मधेशको नेता तपाई नै हो भन्ने ठाउँमा आई पुग्नुभएको छ । आज पनि काठमाडौं फर्केर राजनीतिक छलफलमा केन्द्रित हुनुछ । संविधान संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको छ । अब संसदमा दर्ता गरेर मुलूकलाई निकास दिइनेछ ।’
जनसभामा प्रचण्डले मधेशको मतले आफू दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै मधेशी जनतालाई धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘मधेशप्रतिको मेरो प्रेम घटेको छैन । राष्ट्रिय सहमति र एकताका लागि मैले गरेको प्रयासले म राष्ट्रिय एकताको पक्षमा भएको पुष्टि हुन्छ । तपाई मधेशी जनताको मतले म दोस्रोपटक निर्वाचित भएको छु । निर्वाचनको बेला गरेका प्रतिवद्धता अब कार्यान्वयन गर्नेछु ।’
सभामा प्रधानमन्त्रीले जनकपुरमा बैदेशिक रोजगार सम्बन्धि कार्यालय स्थापना गर्ने, नागरिकता, पासपोर्ट, लालपुर्जाका लागि सिरहाको मिर्चैयामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने, जनकपुर बिमानस्थलको स्तरोन्नति गर्ने, सिरहा जिल्ला अस्पतालको स्तरोन्नति गर्ने, सिरहामा बिमानस्थल स्थापना गर्ने, सडक दुर्घटनाका घाइतेहरुका लागि ट्रमा सेन्टरको स्थापना गर्ने लगायत सिरहाको विकास सम्बन्धि १३ बुंदे घोषणा गर्नुभएको छ । यसअघि प्रधानमन्त्रीले मिर्चैयामा रहेको मोहन माध्यमिक विद्यालयको आवासीय भवनको शिलान्यास गर्नुभएको थियो ।
सभामा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशंकर नायकले राष्ट्रिय एकताका लागि संविधान संशोधन र स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुभयो ।

जनसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिरहाको विकासका लागि गर्नुभएको १३ बूंदे घोषणा यस प्रकार रहेको छ :
१. रामनगर मिर्चैया नगरपालिका क्षेत्रमा ढल निकासको प्रबन्ध गर्न आवश्यक बजेट व्यवस्था गरी व्यवस्थित रुपमा ढल निकास गर्ने कार्य शुरुवात गरिसकेको घोषणा गर्न चाहन्छु । यसै गरी सिराहा जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको व्यवस्था गर्न विशेष पहल लिनेछु । समग्र राजमार्गको उत्तरतर्फका बासिन्दाहरुका लागि खानेपानीको व्यवस्था गर्न मेरो पहल हुने छ ।
२. तराई मधेशबाट वैदेशिक रोजगारमा जानेहरुका लागि सहज र सरल रुपमा सेवा प्रदान प्राप्त गर्ने व्यवस्था गर्न जनकपुरमा आगामी ४५ दिन भित्र वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने जानकारी गराउन चाहन्छु । जुन उपत्यका बाहिर वैदेशिक रोजगारको पहिलो कार्यालय हुनेछ ।
३. आम जनतालाई नागरिकता, पासपोर्ट, नापी नक्सा र जग्गा खरिद विक्री जस्ता कार्यहरु सहज र सरल रुपमा जनताको घरदैलो नजिक ल्याउन सिराहा जिल्लाको मिर्चैयामा इलाका प्रशासन कार्यालय, नापी र मालपोतका शाखा कार्यालयहरु स्थापना गर्न पहल गर्ने छु । म काठमाण्डौ पुप्ने वित्तिकै कार्यालय स्थापना गर्ने प्रकिया शुरुवात गर्ने छु ।
४. ऐतिहासिक पर्यटकीय धार्मिक नगरी जनकपुरमा रहेको एयरपोर्टको स्तरोन्नती गर्ने विशेष रुपमा पहल गर्ने घोषणा गर्न चाहन्छु । सिराहा लामिडाँडामा एयरपोर्ट निर्माणको लागि बजेट व्यवस्था गरी काम अगाडी बढाउनेछु ।
५.जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्राप्त हुन सकोस् भनी सिराहा जिल्ला अस्पतालको हालको १५ वेडको अस्पताललाई स्तरोन्नती गरी ५० वेडको बनाउने कार्य शुरुवात भैसकेको जानकारी गराउंछु ।
६. सिराहा जिल्लाबाट जनकपुर जाने कमला नदी हुलाकी सडकको पुलमाथि निर्माण कार्य विगत लामो समयदेखि रोकिइ हालसम्म सम्पन्न निर्माण हुन नसकेको कुरा मलाई जानकारी छ । सडक विभागको क्षेत्रीय निर्देशकलाई जे जो गर्नु पर्ने सो गरी तत्काल निर्माण कार्य अगाडी बढाइ छिटो काम सम्पन्न गर्न निर्देशन गर्न चाहन्छु ।
७. म यस अवसरमा यसै मञ्चबाट घोषणा गर्न चाहन्छु कि देश भरका भूमिहिन, सुकुम्बासी किसान, मजदूर। श्रमिकहरु जसले जग्गाधनी प्रमाण पूर्जा नभएकै कारणले धारा, बत्तीको लाइन जडान गर्न सकेका छैनन् । जसका कारण उनीहरु आधारभूत रुपमा नभै नहुने पानी बत्ती बाट बञ्चित भैरहेका छन् । उनीहरुका लागि नागरिकता र बसोबासका आधारमा पानी र बत्तीको मिटर जोड्ने व्यवस्था नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय कार्यान्वयन गराउने छु ।
८. राजमार्गमा हुने दुर्घटनामा परेकाहरुको तत्काल उपचार गरी जीवनको रक्षा गर्न चोहर्वामा ट्रमा सेन्टर निर्माणको लागि २२ कट्ठा जग्गा उपलब्ध भएको भन्ने जानकारी पाएको छु । यसलाई आवश्यक बजेट व्यवस्था गर्नेछु ।

_DSC2481_DSC2360

कात्तिक ७, २०८१ बुधबार १९:१९:४५