६७ औं प्रजातन्त्र दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको शुभकामना सन्देश

मुलुकमा लामो समयको निरङ्कुश, जहाँनिया, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाको अन्त्य गरी शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र सम्वृद्धिको कामना गर्दछु । यस अवसरमा नेपाली जनताले विशेषतः २०४६ सालको पहिलो जनआन्दोलन, १० वर्षे महान् जनयुद्ध र २०६२÷६३ को दोस्रो जनआन्दोलन र मधेश, थारु, जनजाति लगायत सबै समुदायका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जलीका साथ जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने राजनीतिक दल, नेपाली जनसमुदाय, प्रजातन्त्रको रक्षार्थ महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा अङ्गहरु र प्रजातन्त्रप्रति सद्भाव राख्नुहुने छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय मित्रहरुमा विशेष आभार प्रकट गर्दछु ।
२००७ सालदेखि अहिलेसम्म मुलूकले छ वटा संविधान प्राप्त गरेको भएतापनि सोही सालको क्रान्तिबाट स्थापित एजेन्डालाई साकार पार्दै हाल सालै जारी भएको नेपालको संविधान मुलुकको शासन व्यवस्था सञ्चालनको गतिशील दस्तावेज हुने कुरामा म पूर्णतः विश्वस्त छु । संविधानप्रति मुलूकका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतूले वर्तमान सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक टेबुल गरिसकेको र त्यसमा आम सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको व्यहोरा हामी सबैलाई अवगत नै छ ।
जनताको संघर्ष र वीरतापूर्ण बलिदानवाट हामीले संघीय समावेशी लोकतन्त्रिक संविधान निर्माण गरेका छौं । संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबैं जातजाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता हो । यसका लागि सरकार सम्वाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहदै आएको छ ।
संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन र नेपाललाई समृद्दिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारीहरु, सबै सुरक्षा निकायहरु तथा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु । अन्त्यमा, शहिदका अधुरा सपनाहरु पूरा गरी लोकतन्त्रलाई संस्थागत गर्न सबैलाई आ—आफ्नो ठाँउमा इमान्दार र प्रतिवद्ध रहि सकारात्मक सोचका साथ अगाडि बढ्न आव्हान गर्दै ६७ औं प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र जनताको जीवन पद्दतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।
फाल्गुण ७, २०७३
पुष्पकमल दाहाल ‘प्रचण्ड’

 

कात्तिक ८, २०८१ शुक्रबार ०:१३:१८