दाङ, २६ पुस । अध्यक्ष क. प्रचण्डले दृढ इच्छा शक्ति सहित अगाडि बढ्यौं भने निकै तीब्र गतिमा विकासमा गई अझ बढि आत्मनिर्भर, स्वाधीन र स्वतन्त्र राष्ट्र निर्माण गर्न संभव भएको बताउनु भएको छ । आज बिहान दाङ जिल्लाको घोराहीमा उद्योग वाणिज्य संघ घोराहीको आयोजनामा भएको स्वागत कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
अध्यक्ष क. प्रचण्डले यो वर्ष असाधारण परिघटनाले भरिएको वर्ष हो बताउँदै भूकम्प, परिवर्तनसहितको सबैको सहभागिता र समावेशिता सहितको संविधानको घोषणा र नाकाबन्दी जस्ता परिघटना भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘नेपाल यि परिघटना नयाँ चुनौतिहरुको सामना गर्दै नयाँ निर्माण गर्ने अवसर पनि प्राप्त भएको छ ।’
अध्यक्ष प्रचण्डले संविधान सभामा उपस्थिति ९० प्रतिशत सदस्यहरुको मतले संविधान बनाएका छौं, यो संविधान बनाएबापत हामीले अनावश्यक रुपमा दुःख पाउनुपरेको छ , भन्नुभयो । अध्यक्षले भन्नुभयो, ‘ हामी सबै मित्र राष्ट्रहरुसँग राम्रो सम्बन्ध राख्न चाहान्छौं । नेताले जनता जन्माउने होइन जनताले नेता जन्माउने, पार्टी बनाउने हो । जनताको सुविधा, सुरक्षा र विकास गर्ने आधारबाट नै केन्द्रको निर्धारण हुन्छ । अपेक्षाहरु धेरै छन् सबै एकै चोटी पुरा नहुनसक्छन् ।’अध्यक्षले पार्टीको तर्फबाट आफ्ना कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद आयोजनकहरुलाई धन्यवाद पनि दिनुभयो । उहाँले दाङ जिल्लाको विकासको रणनैतिक महत्व भएको बताउनु भयो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष हेमराज बञ्जाडेले गर्नुभएको थियो ।