कम्युनिष्ट पार्टीप्रतिको जनताको योगदानलाई अवमूल्यन गरे दुर्भाग्यः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरुको एकतालाई निर्वाचन मार्फत नेपाली जनताले दिलैदेखि गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्त महासंघ नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याई पुर्याइदियो । हामी असफल भयौं भने नेपाल राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।’

उहाँले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली स्थापना गरेको जनतालाई बोझ थप्न नभएको भन्दै जनतामा भएको बोझलाई हल्का गर्न र जनतालाई सेवा प्रदान गर्नका लागि भएको बताउनुभयो । सबैले कर उठाएर करको भार जनताको थाप्लोमा थोपर्ने विल्कुल उद्देश्य नभएको उहाँको भनाई थियो । ‘हामीले त जनतालाई घरदैलोमा नै सेवा दिने भनेका हौं । हामीले रोपेको एउटा अर्कै उर्मेला जस्तो भएको छ, ’ उहाँले भन्नुभयो ।

उहाँले अहिले हामी ढिलै भएपनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आई पुगेको बताउनुहुँदै अबको दशक भनेको समृद्धि र विकासको दशक भएको स्पष्ट पार्नुभयो । उहाँले सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीको बलियो सरकार सबैका लागि अवसर हो भन्दै जनतालाई बलशाली बनाउने कार्यमा सबै पक्ष लागी पर्न अपील पनि गर्नभयो ।

‘सबै प्रगतिशील, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामहरुलाई अगाडि बढाउने अवसर नेपालमा फेरि प्राप्त हुन्छ कि हुन्न । यो भन्दा राम्रो अवसर हुनै सक्दैन । हामीले वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझै धेरै गर्न काम बाँकी छ, ’ उहाँले भन्नुभयो । उहाँले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार निर्वाचन र त्यस अन्तर्गत ऐन नियमहरुको निर्माणको प्रक्रियामा रहेको बताउनुभयो ।



कात्तिक ९, २०८१ शुक्रबार ६:३:२७