‘लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले इतिहास उल्ट्याउन खोज्नेहरुलाई फोहरको थुप्रोमा मिल्क्याइने चेतावनी दिनुभएकाे छ । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएकाे हाे ।

परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने बताउनुभयाे । उहाँले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयाे, “जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन । ”

उहाँले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पार्नुभयाे। उहाँले पुराना सोच, संरचना, मुल्य मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मुल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतनपक्षधरहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयाे ।

उहाँले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठूलो भूमिका रहेको भन्दै प्रभावकारी भुमिका निर्वाहका लागि आग्रह गर्नुभयाे ।

कात्तिक ७, २०८१ बुधबार १४:१:८