गणतन्त्र उल्ट्याएर फेरि पुरानै निरङ्कुशतन्त्र अब असम्भवः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर फेरि पुरानै निरङ्कुशतन्त्र अब नेपालमा असम्भव नरेहको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘तर यो परिवर्तनलाई कमजोर पार्न चाँही खोजिरहेका छन् । बालीमा लाग्ने झारपातलाई बेलाबेलामा उखेलेर फाल्नुपर्छ ।’ उहाँले त्यस्ता झारपात उखेल्न पत्रकारिता क्षेत्रले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपालको २१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझै पनि राष्ट्रका प्रमुख समस्याहरु समाधानका लागि एकता आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले एक अर्को प्रशंगमा सबै राजनीतिक शक्तिहरुलाई नयाँ संकल्पका लागि एकजुट हुन आग्रह गर्नुभयो ।

अप्ठ्यारो परिस्थितीमा पनि निर्वाचन सकेर संविधान कार्यान्वयन प्रक्रियामा देशलाई लैजानुमा सबै राजनीतिक शक्तिहरुबीच सहकार्य भएको उहाँको भनाई थियो । ‘सत्तापक्ष र प्रतिपक्ष छ । आलोचना र विवाद हुनुपर्छ । तर राष्ट्रहितमा सबैबीच समझदारी आवश्यक छ, ’ उहाँले भन्नुभयो ।

संविधान संशोधनको मागप्रति लक्षित गर्दै अध्यक्षले सबै असन्तुष्टीलाई सम्बोधन गरेर संविधानलाई गतिशील दस्ताबेजको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले समझदारीका आधारमा संविधान संशोधन गर्न सकिने संकेत पनि गर्नुभयो ।

देशका लागि अहिलेको आवश्यकता विकास भएको भन्दै उहाँले २१ शताब्दीको परिस्थितीमा राष्ट्रिय अन्तराष्ट्रिय सहयोग लिएर विकास गर्नुपर्ने बताउनुभयो । नेपाललाई गरिब देशको रुपमा नभै विकसित देशको रुपमा स्थापित गर्नका लागि सबै राजनीतिक शक्तिहरुबीच एकताको संकल्प गर्नुपर्ने बेला आएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

हिजो सकिएको लगानी सम्मेलनले विकास र समृद्धिमा धेरै महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गर्नुभयो । अध्यक्षले पछिल्लो समय नेपालको ऐतिहासिक उपलब्धिमाथि आक्रमण र षडयन्त्र भइहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

“कतिपय मानिसहरुले मिडियामा ऐतिहासिक उपलब्धिलाई बडो तितो र नमिठोसँग आक्रमण गरेको देख्छु । त्यतिबेला चिन्ता लाग्छ । किन यसो गरिदैछ ? शान्ति सम्झौता प्रचण्ड एक्लैले गरेको त होइन । गिरिजाप्रसाद कोइरालासहित ७ राजनीतिक दलले पनि गरेका हुन्,” अध्यक्ष प्रचण्डले भन्नुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १२:१२:१६