गोरखामा अध्यक्ष प्रचण्डको भव्य स्वागत

गोरखा, १६ फागुन । जनयुद्धको उद्गमस्थल गोरखामा शुक्रवार साँझ गोरखाली जनसमुदायले नेपाली क्रान्तिका नायक अध्यक्ष प्रचण्डको भव्य स्वागत गरेका छन् । जिल्लाको १० किलो भन्ने स्थानमा सयौं जनताहरुले अध्यक्ष प्रचण्डको भव्य स्वागत गरेका हुन् । सडक किनारमा रहेका बच्चादेखि बृद्धसम्मले आफ्नो घर अगाडि घडा थापी आफ्ना क्रान्ति नायकको स्वागत गरेका थिए । गोरखा जिल्ला प्रवेशसँगै १० किलो भन्ने स्थानमा पुग्नुभएका अध्यक्षले जनसमुदायलाई सम्बोधन गर्दै उहाँले नाकाबन्दी खोलिए पनि ढुक्क हुन भने सक्ने स्थिति नभएको बताउनु भयो । प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट स्थिति सामान्य हुने प्रक्रियाको चाहीं सुरुवात भएको उहाँको भनाई थियो ।

अध्यक्षले संविधान निर्माण पश्चात त्यसको कार्यान्वयनका लागि राष्ट्रिय एकताको खाँचो छ, भन्नुभयो । सबै प्रमुख राजनीतिक शक्तिहरु मिलेर मात्रै संविधान कार्यान्वयन, ऐन कानून बनाउन, भूकम्प पश्चातको भौतिक संरचनाको पुनर्निर्माणमा राष्ट्रिय एकता आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘त्यसैगरी नाकाबन्दी, राष्ट्रिय स्वाधीनता सुदृढ गर्न पनि राष्ट्रिय एकता अपरिहार्य छ ।’ अध्यक्षले अगाडि भन्नुभयो, ‘गोरखा जिल्ला यो सबै प्रक्रियामा अग्रणी पनि छ । भूकम्पको केन्द्रबिन्दु भएकोले यहाँ धेरै ठूलो क्षति पनि भएको छ । युद्ध आन्दोलन सबैमा गोरखाको अग्रीम भूमिका छ ।’ उहाँले गोरखावासी जनसमुदायको न्यानो स्वागत प्रति हार्दिक धन्यवाद पनि दिनुभयो । स्थानीयवासीले दरौदीमा पुल जीर्ण भएकाले मर्मतका लागि माग गरेका थिए ।

त्यसैगरी गोरखाको १२ किलोमा पनि स्थानीयवासीले सडक किनारमा लामवद्ध भएर अध्यक्ष प्रचण्डको भब्य स्वागत गरेका थिए । बच्चा बोकेका आमाहरु, बृद्धबृद्धादेखि युवाहरु सबै सडक किनारमा पुष्पगुच्छा लिई अध्यक्षको स्वागतमा बसेका थिए । उक्त स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘भूकम्पले गोरखामा असाध्यै बढी क्षति भएको छ । पुनर्निर्माण अभियानको कामलाई सहज बनाउन पुनर्निर्माण प्राधिकरणमा गोरखाबाट प्रतिनिधित्व गराईएको छ । यसले गोरखामा एकीकृत बस्ती बसाउने काममा यहाँका जनताको चाहना अनुसार नै हुने मैले विश्वास लिएको छु । यो वर्ष हामी सबै नेपालीको निम्ति असाधारण वर्ष हुन गयो । गोरखाकै बारपाकमा केन्द्र बिन्दु भएर भूकम्प गयो र अकल्पनीय जनधनको क्षति भयो । त्यसकारण यो वर्ष कहिलै बिर्सने नसकिने बर्ष भयो । अर्को, यही बर्ष हामीले धेरै मेहनत गरेर झण्डै ६५÷७० वर्षपछि संविधान सभाबाट संविधान बनाउने भन्ने जो आन्दोलन गर्दै आएका थिए, त्यसको उपलब्धीको रुपमा हामीले संविधान बनायौं । संविधान बनेको वर्षका रुपमा पनि यो वर्ष असाधारण बर्ष भयो । त्यसकारण यो वर्ष कहिल्यै नबिर्सने वर्ष भयो । यसका साथै संविधान बनाए पछि देशले नाकाबन्दीको सामना गर्नुपर्यो । यो वर्ष केही राम्रा काम र केही नराम्रा कामहरु कहिल्यै नबिर्सने बने । नराम्रा घटनाका कारण पनि यो वर्ष नराम्रो वर्ष भयो । र राम्रो वर्षका रुपमा पनि यो वर्ष राम्रो वर्ष बन्यो । हाम्रो पार्टी र आन्दोलनका लागि पनि यो वर्ष महत्वपूर्ण वर्ष भयो । हामीले सक्ने जति राम्रो संविधान बनाएकै हौं । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो तर शक्ति सन्तुलनको कारणले यस्तो संविधान बनाउन सफल भएको हो ।’

अध्यक्षले भन्नुभयो, ‘संविधान बनाई सकेपछि यही गोरखा जिल्लाका जनप्रतिनिधि डा. बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुभयो र सदन पनि परित्याग गर्नुभयो । त्यत्रो हज्जारौंको बलिदानबाट बनेको पार्टीका नेता, जसलाई पार्टीले प्रधानमन्त्री बनायो । तपाई हामीले चुनेर सांसद बनायौं । गोरखाका जनताले नै जिताएर पठायौं । ति जनताको भावनालाई पनि बेवास्था गरेर राष्ट्र अप्ठ्यारोमा परेको बेला आफूलाई चुनेर पठाउने जनतालाई सोधपुछ पनि नगरी अचानक जानुभयो ।’
कार्यक्रम साँझ अबेरसम्म चलेको थियो । उक्त स्थानमा जनसमुदायले स्वागतद्वार बनाई अध्यक्षको स्वागत गरेका थिए । सो अवसरमा स्थानीयवासीले भूकम्पको पुनर्निर्माणको माग पनि गरेका थिए ।

IMG_7126IMG_7162

असोज ११, २०८३ आइतबार १८:२५:२०