चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज अपराह्न अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दुई देशका सरकार तथा पार्टी बीचका सम्बन्धका बारेमा कुराकानी भएको थियाे ।

भेटवार्ता सौहार्द्रपूर्ण वातावरणमा वार्ता सम्पन्न भयो । वार्तामा अध्यक्षले चिनियाँ कम्युनिष्ट पार्टीको नेतालाई पार्टीका तर्फबाट स्वागत गर्नुभयो । चीन र नेपालका बीचमा राज्य–राज्य, जनता–जनता र पार्टीहरूका बीचमा पनि राम्रो सम्बन्ध भएकामा आभार व्यक्त गर्नुभएकाे थियाे ।

भेटमा अध्यक्षले आगामी दिनमा दुई देशका सहकार्यका क्षेत्रमा अझ राम्रो सम्बन्ध हुने भन्ने विश्वास व्यक्त गर्नुभएको थियो । माओवादीका तर्फबाट नेपालका सबै पार्टी र जनता एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनलाई असल छिमेकीका रुपमा स्वीकार गर्ने कुरामा एकै ठाउँमा रहेको विचार व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको विकासको प्रक्रियामा चीनले अहिलेसम्म गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीनले सहयोग गर्नुपर्ने विषयमा ठोस रुपमा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । चीनमा चिकित्सा विषय अध्ययनरत नेपाली विद्यार्थीले भोग्नु परेका समस्या समाधान गर्ने, दुई देशबीचको व्यापार घाटा न्यूनीकरण गर्न चीनको सहयोगको अपेक्षा र अरनिको राजमार्गको स्तरोन्नति तथा केरुङ–रसुवागढी नाकामार्फत हुने द्विपक्षीय व्यापारमा सहयोग गर्न अध्यक्षले आग्रह गर्नुभयो ।

“नेपाल चीनलाई असल मित्रका रुपमा स्वीकार गर्दै स्वतन्त्र परराष्ट्र नीतिमार्फत राम्रो सम्बन्ध विकास गर्न चाहन्छ । नेपालको भूमि प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि गर्न नदिनेमा सिङ्गो नेपाल राज्य, नेपाल सरकार र माओवादी पार्टी प्रतिबद्ध छ,” अध्यक्षले भन्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका नेता लिउले माओवादी केन्द्र, नेपालका सबै राजनीतिक पार्टी, नेपाल सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धतामा एकै ठाउँमा रहेकामा खुसी व्यक्त गर्दै सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।

नेपालको विकासको प्रक्रियामा आगामी दिनमा सधैं चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सम्झौताका सन्दर्भमा नेपालले ठोस योजना छनोट गरेको अवस्थामा त्यसलाई अगाडि बढाउन सकिने बताउनुभयो । नेपाल र नेपालका कुनै पनि पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन र चिनियाँ कम्युनिष्ट पार्टीको नीति रहेको उहाँले जानकारी गराउनुभएको थियो । भेटमा माओवादी केन्द्रका शीर्ष नेताहरु र चिनियाँ भ्रमण दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

कात्तिक ८, २०८१ बिहीबार ८:८:३६