तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताउनुभएको छ । बिहीबार जिल्लाको माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन गर्दै उहाँले आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँंगै अघि बढ्ने भन्दै अध्यक्षले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताउनुभयो । आउँदो निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा सङ्गठन बलियो बनाउनुपर्नेमा उहाँको जोड थियो ।

गएको निर्वाचनमा आफूले गरेको बाचा पूरा हुने चरणमा गएको भन्दै अध्यक्ष प्रचण्डले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताउनुभयो । माडी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र हो । पूर्वाधारका धेरै काम सम्पन्न भएको उहाँको भनाइ थियो । प्रचुर सम्भावना बोकेको माडीको विकासमा आफू लागिपरेको अध्यक्षले बताउनुभयो ।

सो स्थानमा ८६ घर रहेका छन् । संसद् विकास कोष, माडी नगरपालिका र दाताहरूको सहयोगमा ती घर निर्माण गरिएका हुन् । यसअघि उहाँले रु पाँच करोड ३७ लाखमा सम्पन्न माडी नगरपालिका–२ को पाँच किलोमिटर लामो चिरौली सडक उद्घाटन गरेका थिए । गत वर्ष उहाँले सो सडकको शिलान्यास गरेका थिए ।

सङ्घीय सरकार र माडी नगरपालिकाको बजेटबाट सडक निर्माण गरिएको हो । अध्यक्षले आज नै माडी नगरपालिका–७ र ८ जोड्ने हुलाकी सडकमा निर्माण गरिएको परुईखोलाको पुलको उद्घाटन गर्नुभएको थियो । सो सडकमा निर्माणाधीन १३ वटा पुलमध्ये गत साल एउटा सम्पन्न भएको थियो ।

कात्तिक ८, २०८१ बिहीबार १२:१२:८