नेपाल सम्वत् ११३७ को अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी शुभकामना सन्देश

नेपालको मौलिक सम्वत् नेपाल सम्वत् ११३७ नयाँ वर्ष शुभारम्भको सुख्द उपलक्ष्यमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल सम्वत्का प्रवर्तक एवं राष्ट्रिय बिभूति शंखधर शाख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय छ ।
नेपाल सम्वत् नेपालको मौलिक सम्वत् हो । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियान्ता शंखधर शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नु भएको थियो । शंखधर शाख्वा एक प्रगतिशील सामाजिक अभियान्ता र नेपाल सम्वत्का प्रवर्तक हुनुहुन्थ्यो । नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पु¥याउनु भएको योगदान हामी सबैका लागि प्रेरणादायी छ ।
नेपाल बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक राज्य हो । नेपाल राज्यको निर्माणमा विभिन्न जातीय, भाषिक, सांस्कृतिक समुदाय र व्यक्तित्वहरुको महत्वपूर्ण योगदान रही आएको छ । आजको २१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्न र देशको स्वाधीनताको रक्षा गर्न सकिन्छ । नयाँ संविधानमा सबैका भावनाहरुको प्रतिनिधित्व गर्ने प्रयोजनका लागि सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा जुटिरहेको छ । संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयन र मुलूकको समृद्धिका लागि यसले महत्वपूर्ण योगदान गर्नेछ भन्ने गहिरो विश्वास लिएको छु ।
गणतन्त्र स्थापनापछि मेरै कार्यकालमा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा घोषणा गर्ने अवसर मिलेको थियो । अहिले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको काँधमा छ । मेरो विश्वास छ, हामी सबैको सहकार्य, एकता र पहलकदमीबाट यस दिशामा सफलता हासिल गर्नेछौं । अन्त्यमा, नेपाल सम्वत् ११३७ को अवसरमा फेरि एकपटक सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गर्दछु । न्हूदँया भिन्तुना ।
१५ कार्तिक २०७३

suvakamana

कात्तिक ६, २०८१ बुधबार ३:३६:५९