पार्टीको एकताको मूल आधार स्थिर सरकार, राष्ट्रिय एकता र आर्थिक विकासः अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीको एकताको मूल आधार स्थिर सरकार, राष्ट्रिय एकता, आर्थिक विकास र २१ औं शताब्दीमा विश्व कम्युनिष्ट आन्दोलनमा के सन्देश दिने भन्ने आधारमा भएको बताउनुभएको छ । विजय दशमी,दिपावली एवं छठ पर्वको अवसरमा प्रदेश नम्बर ५ ले आयोजना गरको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “यि मूलभूत कुराहरुमा एउटा समझदारी र समिक्षा पछि मात्र हामी एकताको सहास गरेका हौं ।” उहाँले विकासका लागि देशमा अहिले राजनीतिक पूर्वाधार तयार भईसकेको बताउनुहुँदै यो सानो कुरा होइन भन्नुभयो । कम्युनिष्ट पार्टीको एकता र बलियो सरकार गठन नभएकाे भए देशमा विकासको गति पैदा हुन सम्भव नहुने अध्यक्षको भनाई थियो ।

राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयता सहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गरिने अध्यक्षको धारणा थियो । रुपन्देहीको बुटवलमा आयोजित नेकपाको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्न आज बिहान भैरहवाको गौतमबुद्ध विमानस्थलमा पुग्नुभएका अध्यक्ष प्रचण्डले पछिल्लो समय विमानस्थलको निर्माण प्रगति तथा गुणस्तरबारे निर्माण आयोजना प्रमुखसँग जानकारी लिनुभयो । त्यस क्रममा विमानस्थल निर्माण कार्य समयमै सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन पनि दिनुभयो ।

उहाँले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हुँदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको बताउनुभयो । उहाँले बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व झन् बढ्दै गएको बताउनुभयो । अध्यक्ष प्रचण्डले केहि प्रविधिक कारणले स्थानिय तहमा पार्टी एकता प्रकृया ढिलाई भएको स्पष्ट पार्नुभयो ।

प्रदेश तहको पार्टी एकिकरण २ घण्टामा भएको स्मरण गर्दै उहाँले पछि विवाद नआओस् भनेर स्थानिय तहको एकिकरणमा ढिलाई भएको जानकारी दिनुभयो । बाहिरा जे दुष्प्रचार भएको छ त्यस्तो हुँदै होईन, उहाँले भन्नुभयो, ‘टुंगाउन नसकेर टुंगो नलगाएको होईन । सबै क्षेत्र, वर्गलाई मिलाएर लैजानुपर्ने भएकाले पार्टी भित्र गम्भिर छलफल भईरहेको छ ।’

कात्तिक ९, २०८१ शुक्रबार १६:१७:९