केन्द्रीय कमिटी बैठकले पार्टीलाई थप सुदृढ बनायाेः अध्यक्ष प्रचण्ड

पाेखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीलाई थप सुदृढ बनाएकाे बताउनुभएकाे छ । प्रेस सङ्गठन कास्कीले बुधबार पोखरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टी र सरकारबीच केहीँ असमझदारी छ कि भन्ने अन्योल पनि बैठकपछि अन्त्य भएको बताउनुभयाे । ‘पार्टीको केन्द्रीय कमिटीको बैठक सकारात्मक परिघटना सावित भएको छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे ।

अध्यक्षले केन्द्रीय कमिटी बैठकले एमसीसी पास गर या नगर नभनेर जनता र सबै कार्यकतालाई बुझाएर मात्र पास गर्नुपर्ने निचोड निकालकाले एमसीसीबारे सबैलाई प्रष्ट पार्न कार्यदल गठन गरिएको बताउनुभयाे ।  ‘अध्ययन कार्यदल एमसीसीबारे अध्ययन गर्न बनेको हो । अध्ययन कार्यदलले प्रतिवेदन सचिवालयलाई बुझाउँछ,’ उहाँले भन्नुभयाे, ‘त्यसमा पार्टीले निर्णय गरेर पास गर्छ ।’ 

राष्ट्रियसभाको निर्वाचनपछि सरकारले दुई तिहाइ उपस्थिति हासिल गरेकोले अब कसैको समर्थन नभए पनि सिङ्गो पार्टीले नै दुई तिहाइ सरकारको प्रतिनिधित्व गरेको उहाँकाे भनार्इ थियाे।

‘स्थिर सरकार हुनु जनताका लागि र प्रतिपक्षीका लागि पनि खुसीको कुरा हो,’ उहाँले भन्नुभयाे, ‘पार्टीको महाधिवेशनअघि तीन महिने अभियानले जनता र सरकारबीच सम्बन्ध थप सुधार्न सहयोग गर्नेछ ।’

कात्तिक ८, २०८१ शुक्रबार २:९:४६