पार्टी एकता प्रक्रिया मुलुकको सफलतासंग जोडिएको छः अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पार्टी एकता प्रक्रिया मुलुकलाई सफलतामा अघि बढाउने कुरासंग जोडिएको बताउनुभएको छ । प्रेस संगठन नेपालले कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, “अहिले देशको र सरकारको नेतृत्व गर्ने पार्टी हुनुको नाताले यो पार्टीको एकता प्रक्रियालाई अन्तिम रुप दिने र तलसम्मका कमिटिहरुको परिचालन गर्ने कुराले देशको, सरकारको र समग्र विकास प्रक्रियाका निम्ति रणनीतिक अर्थ राख्छ । यो कुराको बोध हामी सबैलाई छ र हामी त्यसैमा अन्तिम रुपले प्रयासरत छौं ।”

अध्यक्षले जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने बताउनुभयो । दुई अध्यक्ष बीच एकैपटक टुंग्याउने भनेर सल्लाह भएको र शनिवार सचिवालयको बैठक बसी एकता प्रक्रिया सबै टुंग्याउने कसरतमा रहेको अध्यक्षको भनाई थियो ।

उहाँले भन्नुभयो, “सरकारले पहिलो वर्षलाई आधार वर्षको रुपमा मानेर संवैधानिक र कानूनी रुपले गर्नुपर्ने कामहरु प्नि यो वर्ष टुंग्याउनु पर्छ ।”

उहाँले पार्टी एकताका लागि यसअघि भएका सहमति र सम्झौता विपरित जाने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो । उहाँले पार्टी एकता र सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाएर लैजाने बारेमा पनि आफुहरु गम्भीर भएको बताउनुभयो ।

उहाँले भन्नुभयोे, “पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अघि नै सार्वजनिक भएको हो, अहिले नै त्यो बिषयलाई चर्चा र विवादमा ल्याउन कोही नै कोही खेलिरहेको छ ।” उहाँले एकअर्को प्रसंगमा विप्लव समूह राजनीतिक प्रक्रियामा आउनुको बिकल्प नरहेको धारणा राख्नुभयो ।

गुठी विधेयकका बारेमा जनताको असन्तुष्टि देखा परेपछि फिर्ता लिइएको भन्दै भन्नुभयो, गुठी सम्बन्धी विधेयकमा नयाँ शीराबाट अघि बढ्छ । सबै गुठीहरु एकै प्रकृतिका छैन, सबै समस्याको हल हुने गरी विधेयक आउछ ।” अध्यक्ष प्रचण्डले विधेयकहरुबारे रहेका प्रावधानहरुका बारेमा जनतालाई बुझाउन नसकिएको बताउनुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार ८:९:१९