भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताउँदै उहाँले भन्नुभयो, ‘यस्ता खालका द्वन्द्व भविष्यमा नदोहोरियोस् भनेर पनि हामीले सत्यतथ्य छानबिन गर्नैपर्छ ।’

दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी भएको जानकारी दिँदै उहाँले सबै घटनामा आममाफी होस् भन्ने सोच नभएको दोहोर्याउनुभयो ।
अध्यक्ष प्रचण्डले द्वन्द्वका घटनालाई आममाफी दिने प्रस्ताव आउँदा आफूले अन्तरिम संविधान निर्माणका क्रममा हुन्न भनेर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाउने प्रस्ताव गरेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘ममाथि पनि धेरै मुद्दाहरु छन्, ती सबैको सत्यतथ्य होस् भन्ने चाहन्छु ।’

अध्यक्ष प्रचण्डले अहिले पार्टी एकता भइसकेको भए पनि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच द्वन्द्व नभएको र आपसमा लडाइँ पनि नभएको उल्लेख गर्दै पञ्चायत र राजतन्त्रविरुद्ध सँगै लडेको स्मरण गर्नुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार २:११:५७