मधेसी जनताको अधिकारको पक्षमा संविधान संशोधनको पहल गरेको छुः अध्यक्ष प्रचण्ड

सिराहा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताउनु भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं ।’

उहाँले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गर्दै मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने बताउनुभयो । ‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ उहाँले भन्नुभयो, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’

सिँचाई र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको उहाँको भनाइ थियो । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहने छ । सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो । यहाँको आँपको माग विश्वभरि नै छ । सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु ।’

धानखेतीमा पनि सिरहा उर्वर जिल्ला रहेको बताउँदै उहाँले यसलाई धानको सुपरजोनको रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘अहिलेको संविधानले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रुपमा राखेको छ’ उहाँले भन्नुभयो, ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रकृया सुरु गरेको छ । उपचार नपाएर गरिबीको कारण अब कोही मर्नु पर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ । नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’

पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागी परेको अध्यक्ष प्रचण्डको भनाइ थियो

कात्तिक ९, २०८१ शुक्रबार १४:५:०