मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं, ‘प्रचण्ड’

असोज ४, गोरखा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिको सेवाका लागि मन्त्री र सांसद बन्न पार्टी नेताहरुलाई आग्रह गर्नुभएको छ ।
बुधबार गोरखा जिल्ला सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले साथीहरुमा मन्त्री, सांसद, मेयर, उपमेयर बन्ने चाहना बढेको छ । हिजो युद्धमा हामी त्यागका लागि प्रतिस्पर्धा गथ्र्याैं, अहिले पदका लागि प्रतिस्पर्धा गर्नेजस्तो देखिएको छ । हाम्रो क्रान्ति पुरा भएको छैन, नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गरेर समाजवादी क्रान्तिमा लाग्ने पार्टीको घोषित नीति हो । मन्त्री, सांसद, मेयर जो–जो भएपनि त्यसको एक मात्र उद्धेश्य समाजवादी क्रान्तिका लागि आधार तयार पार्नु हो । त्यसैले मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री, सांसद हो भनेर बुझौं । क्रान्तिका लागि माओवादी र माओवादीका उम्मेदवारले जित्नैपर्छ, एक ढिक्का भएर लागौं ।’
‘गोरखा जिल्ला क्रान्तिकारी उर्भरभूमि, जनयुद्धमा सबैभन्दा ठूलो तहबाट बलिदानी भएको जिल्ला, पहिलो र दोस्रो चुनावमा राम्रो विजय भएको जिल्ला पनि हो’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तर, स्थानीय तह निर्वाचनमा किन अप्रत्यासित नतिजा आयो ? मनोगतवादी दृष्टिकोण गोरखामा पनि देखियो, जीतले हौसियौं । हारसँग जीत र जीतसँग हार जोडिएको हुन्छ, हामी द्वन्दात्मक हुनुपर्छ, अतिवादबाट बँच्नुपर्छ । अति आत्मविश्वासले गोरखामा हारियो । निर्वाचन तयारीमा गम्भीर ध्यान पुगेन, बाबुरामजीको शक्ति बुझिएन कि ? बाबुरामजीले आफ्नै खुट्टामा बञ्चरो हान्नु भएको छ, समग्र राजनीतिमा उहाँको कदम आत्मघाती छ । तर, गोरखामा बाबुरामलाई एकदमै कम आँक्नु चाहिँ त्रुटि नै थियो ।’
माओवादीकै नेतृत्वमा देशमा गुणात्मक परिवर्तन भएको उहाँले बताउनु भयो । प्रचण्डले भन्नुभयो, ‘देशमा जति पनि राजनीतिक परिवर्तन भएको छ, त्यसको देन माओवादीलाई नै जान्छ । यो कुरा विरोधीहरु पनि मान्छन् । माओवादी नभएको भए गणतन्त्र, समावेशी लोकतन्त्र, संघीयता, संविधान, स्थानीय तह र निर्वाचन पनि सम्भव थिएन । नयाँ संविधानमा माओवादीको छाप छ, प्रस्तावनादेखि अनुसूचिसम्म माओवादीकै गन्ध छ । हामी तेस्रो पार्टी त भयौं । तर, सरकारको चाँबी हाम्रै हातमा थियो, त्यही चाँबी प्रयोग गरेर नै हामीले संविधान बनायौं, संविधान कार्यान्वयन गर्याैं । कांग्रेस, एमाले त गाबिसकै चुनाव चाहन्थे । स्थानीय तह बनेपछि पनि चुनाव हुन नदिन षड्यन्त्र थियो, हाम्रा कारणले मात्रै स्थानीय तह र चुनाव सम्भव भयो ।’
‘माओवादी नभएको भए देशै भाँडिने खतरा थियो । पहाडमा राजा महाराजको जस्तो मण्डले राष्ट्रवाद र मधेशमा देशमा बस्दैनौं भन्ने बिखण्डनवाद थियो । जनता जनता भिड्ने पो हुन् कि भन्ने डर थियो’, प्रचण्डले थप्नुभयो, ‘हामीले देशलाई सम्हाल्यौं । २ नम्वर प्रदेशको चुनावसम्म आउँदा मण्डले राष्ट्रवाद र बिखण्डनवाद पराजित भएको छ । देशमा बिखण्डन र द्वन्द्व रोकिएको छ ।’
शान्ति प्रक्रियामा नआएको भए जनयुद्धले अप्ठ्यारो मोड लिने प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आफू पनि मरेर सकिनु र अरुको पनि रक्षा नगर्नेलाई लिडर भनिदैन । क्रान्ति नै जोखिममा परेको देख्दादेख्दै बचाउन नखोज्ने लिडर हुन सक्दैन । जनयुद्ध सुरु गर्दा पेरुमा क्रान्ति उत्साहमा थियो, श्रीलङ्काको मुक्ति आन्दोलन उचाईमा थियो, फिलिपिन्स पनि राम्रै थियो । तर, दस वर्षमा ती सबैमा अवरोह भयो, यसलाई हामीले बेवास्ता गर्न सक्दैनथ्यौं र गरेनौं । हामीले समयमै सही विश्लेषण गरेर क्रान्तिको जहाजलाई जोगायौं । हाम्रा एजेण्डालाई देशका मुद्दाका रुपमा स्थापित गरायौं ।’
‘तपाईं हामी जिउँदै हुँदै अर्काे क्रान्ति हुन्छ । हामी १० वर्षमा जनवादी क्रान्ति पनि पूरा गर्छौं, समाजवादी क्रान्ति पनि गर्छौं’, प्रचण्डले थप्नुभयो, ‘अबको हाम्रो लाइन समाजवादी क्रान्ति हो । कांग्रेस एमालेले जितेर हामीले हारेर गणतन्त्र आएको होइन, गणतन्त्र हाम्रो औजार हो । यसलाई फालेर होइन, बलियो बनाएर मात्र समाजवादी क्रान्ति हुन्छ । त्यसका लागि बलियो संगठन चाहिन्छ ।’
प्रशिक्षणमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, देव गुरुङ, देवेन्द्र पौडेल लगायतका वक्ताहरुले गोरखा जिल्ला न्यायको प्रतीक र परिवर्तनकारी आन्दोलनको किल्ला भएको बताउँदै आसन्न प्रदेश र संघको निर्वाचनले त्यसलाई थप पुष्टि गर्ने बताउनु भयो । कार्यक्रममा कांग्रेस, एमाले, नयाँ शक्ति लगायतका दलबाट ४६ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
प्रशिक्षणमा माओवादी केन्द्र गोरखाका अध्यक्ष लेखबहादुर थापाले गोरखामा स्थानीय निर्वाचनमा कांग्रेसभन्दा माओवादीको ३००० मत कम आएको, छोटो समयले प्राविधिक तयारीमा चुकेको, जनशैलीको अभाव रहेको, प्रतिस्पर्धीलाई कम आँकेको, स्थानीय चुनावका विशेषता बुझ्न नसकेको, मौन अवधिमा भएका अवाञ्छित गतिविधि रोक्न नसकेका कारण माओवादी पराजित हुनु परेको रिपोर्ट राख्नुभएको थियो । प्रशिक्षणपछि अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले गोरखा जिल्लाका शहिद र बेपत्ता परिवारसँग अन्तरक्रिया गर्नुभएको थियो ।

कात्तिक १०, २०८१ शनिबार १२:२४:३३