याे एकता कम्युनिष्टहरु एकढिक्का भएर संघर्षबाट प्राप्त सफलता होः अध्यक्ष प्रचण्ड

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता कम्युनिष्टहरु एकढिक्का भएर संघर्षबाट प्राप्त सफलता भएको बताउनुभएको छ । पाँचथरको फिदिममा पार्टीको प्रशिक्षण कार्यक्रममा मंगलबार दिउँसो सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘थोरै ढिला भए पनि एकता प्रक्रिया निष्कर्षमा पुगेको छ । पार्टी एकताको बेलाका सबै समझदारी पार्टीको महाधिवेशनसम्ममा कार्यान्वयन हुन्छन् ।’

उहाँले कहिलेकाहिँ मिडियामा आउने एक दुईवटा कुरामा केही अलिक ठूलै छ कि भन्ने छ भने त्यो भ्रम मात्रै हो भन्नुभयो । सोमबार प्रधानमन्त्रीसमेत रहेका अर्का पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू २ घण्टा बसेर पार्टी एकता प्रक्रियाको समग्र स्थितिलाई अब कसरी लाने भनेर समीक्षा गरेको पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले सरकारको अबका वर्षहरू भने विकास निर्माण र समृद्धिको द्रूत गतिको प्रगतिका वर्षहरू हुने बताउनुभयो । ‘राजनीतिक प्रणाली नै परिवर्तन भएकोले सोही अनुसारको नयाँ संरचना खडा गर्नुपर्ने, कर्मचारीलाई समायोजन गर्नुपर्ने र स्थानीय, प्रदेश र संघ सबैतिर आवश्यक पूर्वाधार तयार गर्नुपर्ने भएकोले पहिलो वर्ष आधार वर्ष भएको र सरकारको सम्पूर्ण ध्यान अब विकास निर्माण र समृद्धि मै केन्द्रित हुनेछ,’ उहाँले भन्नुभयाे।

अध्यक्षले एकअर्को प्रसंगमा दश वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिलाई गुणात्मक परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वि.स. २००७, २०३६ र २०४६ सालमा प्राप्त राजनीतिक उपलब्धि भने मात्रात्मक प्रकृतिको परिवर्तन हो ।’ उहाँले चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमणका बेला भएका समझदारी र नेपालको विकासमा चीनले सहयोग गर्न देखाएको तत्परताले धेरै ठूलो र दीर्घकालीन महत्व राख्ने बताउनुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार ४:१५:१२