कैलाली, ४ माघ । अध्यक्ष प्रचण्डले यो बेला देशमा आइपरेका अप्ठ्यारासँग जुध्ने र एकतावद्ध भएर देश निर्माण गर्ने समय भएको बताउनु भएको छ । कैलालीको धनगढीमा जिल्लाका प्रमुखहरुसँगको भेटमा उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘कुनै पनि राष्ट्रको जीवनमा अप्ठ्याराहरु आउँछन्, ति अप्ठेराहरुले नराम्रा कुराहरु मात्र लिएर आउँदैनन् सकारात्मक कुराहरु पनि सँगै आएका हुन्छन् ।’
उहाँले थारु आन्दोलन, मधेस आन्दोलन लगायतका विषयहरु देशका आन्तरिक विषय भएको बताउँदै यसलाई आन्तरिक ढंगले छलफल र वार्ताद्वारा हल गर्ने जानकारी दिनभयो । ‘नकारात्मक परिस्थितिलाई सकारात्मक परिणाम निकाल्ने हिसाबले हामीले सामना गर्ने सोचका साथ अगाडि बढ्नु पर्छ,’ अध्यक्षले भन्नुभयो, ‘आन्दोलनरत मधेशवादी मोर्चासँग छलफल भईरहेको छ, समझदारीको नजिक पुग्दैछौं र भोलीसम्म एउटा निश्कर्षमा पुगिन्छ भन्ने आशा राखेका छौं । यसपछि नाकाबन्दीको समस्या पनि हल हुन्छ भन्ने देखिन्छ । । सरकारको तर्फबाट भारतसँग पनि कुटनैतिक वार्ता भइरहेको छ ।’
संविधानको घोषणा पछि देश विकास तर्फ जाने सोच राखेको तर आफूहरुले सोचेजस्तो नभएको उहाँको भनाई थियो । ‘थारु आन्दोलन र मधेस आन्दोलनको सामना गर्नुप¥यो त्यस्तै संविधानको घोषणा पछि नाकाबन्दीको सामना गर्नुपर्यो र गरिरहेका छौं । हामीले मात्र होइन, विश्वले समेत कल्पाना गरेको थिएन कि आफैंले आफ्नो संविधान निर्माण गर्दा यस्तो समस्याको सामना गर्नुपर्छ भनेर ।’
कैलाली जिल्ला विषम परिस्थितिबाट गुज्रिएको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सबैले संयमता अपनाउनु भएपछि क्रमशः सन्तुलनमा आयो, यसको निम्ति तपाईहरुले लिनु भएको पहलप्रति सरकार सञ्चालन संयन्त्रको प्रमुखको हैसियतले धन्यवाद दिन चाहान्छु ।’