राजनीति फोहोरी खेल होइन, ‘अध्यक्ष प्रचण्ड’

असोज ७, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति फोहोरी खेल नभएको तर फोहारी बनाउन खोजिएको बताउनु भएको छ ।
शनिबार दिउँसो माओवादी केन्द्र सम्वद्ध अखिल नेपाल खेलकूद महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘खेलको आफ्नै नियम छ, यसको आफ्नै संस्कार र मान्यता छ, यसले खेलाडी र व्यक्तिगत जीवनलाई मात्रै होइन, देशलाई नै स्वस्थ र समृद्ध राख्न मद्दत गर्छ । राजनीति पनि एक प्रकारको खेल नै हो । यसका पनि आफ्नै नियम, मूल्य मान्यता र संस्कार छन् । तर, हामीकहाँ बिकृत बनाउने प्रयास गरियो । माओवादी राजनीति फोहोरी खेल हो भन्ने मान्यतालाई बदल्न चाहन्छ । राजनीति सफा खेल हो भन्ने मान्यता स्थापित गर्न चाहन्छौं । मैले राजनीतिक सहमतिलाई इमान्दारिपूर्वक पालना गरेर त्यो सन्देश दिन खोजेको छु ।’
‘खेलले नै राष्ट्र र जनताको विकास, समृद्धि र एकता पैदा गर्दछ । राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्रको निकै ठूलो योगदान छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले दुईपटक सरकारको नेतृत्व गर्ने अवसर पाएँ । बरु, विधि फेरेर भए पनि खेल क्षेत्रका लागि केही गरौं भन्ने भावनाले उत्प्रेरित गरिरह्यो । अहिले भलिबललाई राष्ट्रिय खेलका रुपमा मान्यता प्रदान गरिएको छ, खेलाडीहरुको मनोबल बढाउन मेहेनत गरिएको छ, घोषणा गर्ने तर पुरस्कार नदिने मान्यता तोडिएको छ, यसलाई अझै विकसित गरेर लैजानु पर्दछ ।’
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, गृहमन्त्री जनार्दन शर्मा, खेलकूद महासंघका अध्यक्ष शिब कोइराला लगायतका वक्ताहरुले बोल्नुभएको थियो भने खेलाडीहरुले खेलसम्बन्धि विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए ।

कात्तिक १०, २०८१ शनिबार १२:१३:१२