‘राज्य व्यवस्थालाई समाजवाद उन्मुख गराउन स्वास्थ्य र शिक्षा क्षेत्रको सम्पुर्ण जिम्मेवारी राज्यले लिनुपर्छ’

‘आधारभूत स्वास्थ्य र शिक्षा नागरिकको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ’
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं चितवन निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ आधारभूत स्वास्थ्य र शिक्षा सेवा नागरिकको नैसर्गिक अधिकार भएकोले यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभएको छ । उहाँले यसो गर्दा मात्र राज्य व्यवस्था समाजवाद उन्मुख हुने उल्लेख गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ चितवनले आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क प्रचन्ड’ बिषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले स्वास्थ्य र शिक्षा क्षेत्रलाई नागरिकको सहज पहुँचमा ल्याउन सघन छलफल भईरहेको भन्नुहुँदै यस बिषयमा छिट्टै नतिजा निस्कने समेत बताउनुभयो । भरतपुर मेडिकल सिटिको रूपमा बिकसित हुँदै र यस क्षेत्रलाई अझै व्यवस्थित बनाउन सरोकारवाला एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।

भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालमा स्तरोन्नती गरिएको जानकारी दिँदै उहाँले सोहि बमोजिम यस अस्पतालको भौतिक पूर्वाधार विकास र विस्तारमा ध्यान दिने बताउनुभयो । उहाँले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रूपमा बिकास गर्ने बिषय छलफलमै रहेको र छिट्टै टुंगिने विश्वास समेत व्यक्त गर्नुभयो ।

अध्यक्षले भन्नुभयो, ‘मैले निजी स्वास्थ्य संस्थाहरूका समस्याहरू पनि सुने, विद्यार्थी भाइबहिनीहरुका समस्या पनि सुने, स्वास्थ्यकर्मी र सरकारी स्वास्थ्य केन्द्रहरूको समस्या पनि सुने, यी सबै समस्याहरू जायज छन् । म यो समस्या सरकारका मन्त्रिहरूसंग सामुहिक रूपमा छलफल गरी परिणाम आउने काम अगाडि बढाउँछु ।’ उहाँले काठमाडौं पुग्ने बित्तिकै छलफल गरी यस विषयमा अगाडि बढाउने विश्वास समेत दिलाउनुभयो।

कात्तिक ८, २०८१ बिहीबार १६:६:०