संक्रमणकालीन न्याय टुंगो नलाए गणतन्त्र गुम्ने खतराः अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय टुंगोमा नपु-याए संघीय लोकतान्त्रिक गणतन्त्र आफैं गुम्ने खतरा हुने बताउनु भएकाे छ । राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको राजनीतिक नेतृत्व र पीडितहरुबीच अन्तरसम्वाद कार्यक्रमलार्इ सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

अध्यक्ष प्रचण्डले पीडितहरुले आफ्नोसामू आक्रोश, पीडा पोख्नुलाई अन्यथा नलिइने बताए । बेलाबेला आफूमाथि अन्यायपूर्ण आक्रोश समेत व्यक्त हुने गरेको भन्दै उहाँले भन्नुभयाे, ‘यसलाई सहानुभूतिकै रुपमा लिएको छु । र यो प्रक्रिया टुंगोमा नपुगेसम्म यसको प्रतिवाद गर्ने राजनीतिक र नैतिक अधिकार छैन ।’ उहाँले संक्रमणकालिन न्यायको बाँकी कामहरु टुंग्याउन आफूहरु ढिलो भएको बताएउनुभयाे ।

अध्यक्ष प्रचण्डले १३ वर्ष हुनलाग्दा पनि यो सबै समस्याको समाधान नहुनु सबैको निम्ति पीडाको विषय भएको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे–‘तपार्इहरु जतिपनि पीडितहरु आफ्नो पीडा राख्नु जति उचित छ, हामी राजनीतिक नेतृत्वकर्ताहरुले यो समस्या समाधानको ढिलाईमा त्यतिनै पीडा महसुस गरिरहेका छौं ।’ अध्यक्षले शान्ति सम्झौतामा हस्ताक्षर गर्दाको समय स्मरण गर्दै उहाँले संक्रमण न्यायसंगको विषयलाई समानान्तर ढंगले अघि बढाउने काम प्रारम्भदेखि नै भएको बताउनुभयाे ।

अहिले भने दलहरु यो समस्या सदाका निम्ति समाधान गर्नुपर्छ भन्ने निष्कर्षमा सत्ता र प्रतिपक्षमा रहेका दलहरु पुगेको भन्दै उहाँले भन्नुभयाे, ‘दलहरुबीच नयाँ विश्वास पैदा भएको छ, मनमनै आत्मालोचना गरेका छन् भन्दा पनि हुन्छ ।’

अध्यक्षले आयोगहरु बनाउने र कानुन संशोधन गर्ने प्रक्रियालाई समानान्तर ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयाे । उहाले अघि भन्नुभयाे, ‘यही हो मौका, हामी सबैको पीडा सम्बोधन गर्न सक्ने परिस्थिति छ । यो अवसर हामीले गुमाउनु हुँदैन ।’

कात्तिक ८, २०८१ शुक्रबार ४:१२:५८