‘संविधान सहमतिको दस्तावेज हो, आवश्यक परे संवैधानिक र शान्तिपूर्ण तरिकाले संशाेधन गर्न सकिन्छ’

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले वर्तमान संविधान सहमतिको दस्तावेज भएकाले आवश्यक परे संवैधानिक र शान्तिपूर्ण तरिकाले संशाेधन गर्न सकिने बताउनुभएको छ । सुनसरीको झुम्कामा आयोजना गरिएको जितिया महोत्सवलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामाजिक न्यायसहितको संविधानले सबैको हित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो संविधानकै कारण आज राष्ट्र मुलभूत रुपमा एकताबद्ध भएको छ । समानुपातिक व्यवस्थाले थारुहरुको संसदमा बढी भन्दा बढी प्रतिनिधित्व भएको छ ।

आफूले नेतृत्व गरेको जनयुद्धमा थारु समुदायको अग्रणी भूमिका रहेको प्रचण्डले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘थारु समुदाय राष्ट्र निर्माणको पक्षमा इतिहासदेखि नै अग्रणी स्थानमा छ ।’
थारुलाई मधेसी र जनजाति कोटामा नराखी छुट्टै पहिचान दिलाउन संवैधानिक थारु आयोग बनाइएको उहाँको भनाई थियो । ‘यसअघिका सरकारले छुट्टै थारु आयोग बनाएका थिएनन्, थारु समुदायले भने छुट्टै पहिचानको माग गर्दै आएका थिए,’ उहाँले भन्नुभयो ।

उहाँले मुलुक एकात्मक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा गएकोले यसलाई थारु समुदायले उपलब्धीको रुपमा लिनु पर्ने बताउनुभयो । तराईमा थारु लगायत मधेसीहरुले मनाउँदै आएको जितिया पर्वको शुभकामना दिँदै अध्यक्ष प्रचण्डले नेपाल भौगोलिक रुपमा सानो भएपनि जातीय र साँस्कृतिक रुपले ठुलो भएको भन्दै यसमा सबैले गर्व गर्नु पर्ने बताउनुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार ४:१२:२५