नेपालगञ्ज, २६ पुस । अध्यक्ष क. प्रचण्डले पार्टीहरुको बीचमा समस्या समाधानको निम्ति राजनैतिक छलफल र कूटनैतिक पहल भईरहेको बताउनु भएको छ । ५ नं. प्रदेशको प्रदेश स्तरीय बैठक र प्रशिक्षण सकेर काठमाडौं फर्कने क्रममा बाँकेको नेपालगञ्ज विमानस्थलमा क्रान्तिकारी पत्रकार संघद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम उहाँले त्यस्तो बताउनु भएको हो । अध्यक्षले मधेश आन्दोलन, थारुहरुको समस्या र नाकाबन्दीको समस्या नै अहिलेको जल्दोबल्दो प्रश्न भएको बताउनु भयो ।
सिमांकनको हेरफेर र परिमार्जनको निम्ति जनताको सुझाव र विज्ञहरुको राय अनुसार ३ महिना भित्र हल गर्ने प्रक्रियामा रहेको उहाँले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । ‘नाकाबन्दीको स्थिति पनि खुकुलो हुँदै गएको, सरकारको तर्फबाट भएका कुटनैतिक पहल, राजनैतिक तहमा भएका छलफलले पनि समस्या हल हुँदै आएको छ’, अध्यक्ष .क प्रचण्डले भन्नुभयो ।
अध्यक्षले भन्नुभयो, ‘नेपाल माथि कठोर कदम चाल्नु भारतका निम्ति नै राजनैतिक रुपले नोक्सानी भएको छ । हाम्रो अगाडि संविधान कार्यान्वयन गर्दै जाने चुनौति छन् । संविधान भएकाले जनताको चाहना अनुरुप परिमार्जन गर्दै जानेछौं । २ वटा विधयक सदनमा दर्ता भईसकेका छन् । अब केही दिनभित्र सबै समस्या हल हुन्छन् ।’ पत्रकारहरुले सोधेका जिज्ञासाको जवाफ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ र महासचिव क कृष्णबहादुर महराले पनि दिनुभएको थियो । उहाँहरु आज नै काठमाडौं फर्किनु भएको छ ।