समाजवादी क्रान्तिका लागि विचार, सोच र शैलीमा गुणात्मक फड्को अपरिहार्यः अध्यक्ष प्रचण्ड

surkhet_schoolingसुर्खेत, २९ पुस । अध्यक्ष क. प्रचण्डले समाजवादी क्रान्तिका लागि विचार, सोच र शैलीमा गुणात्मक फड्को अपरिहार्य भएको बताउनु भएको छ । ६ नं. प्रदेश समितिको प्रथम विस्तारित बैठकलाई सुर्खेतमा सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘समाजवादी क्रान्ति गर्न नयाँ ढंगको क्रान्तिकारी पार्टीको खाँचो पर्छ । त्यसप्रकारको क्रान्तिकारी पार्टीले मात्र त्यो आवश्यकता पुरा गर्न सक्छ । समाजवादी क्रान्तिको चरणमा हाम्रो विचार, सोच र शैलीमा गुणात्मक फड्को हान्नै पर्छ ।

समाजवादी क्रान्तिको तयारीको सम्पूर्ण खाका बनाईएको जानकारी दिँदै अध्यक्षले केन्द्रीय समिति र केन्द्रीय नेतृत्वले नै समाजवादी क्रान्तिको निम्ति उदाहरण प्रस्तुत गर्नुपर्ने बताउनु भयो । ‘सोच शैलीमा गुणात्मक रुपले नयाँ नमूना प्रस्तुत गर्न वैचारिक, स्पष्टता, सोही अनुरुपको संगठनात्मक ढाँचा, सोच र शैलीले नै समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्षले अगाडि भन्नुभयो, ‘इन्चार्ज कमरेडले राखेको योजना अनुरुप यो प्रदेश नयाँ बन्ने बताउँदै भन्नुभयो, ‘६ नं. प्रदेश नयाँ बन्यो र उदाहरण बन्यो भने त्यो कर्णालीका लागि मात्र होइन, सिंगो नेपालको निम्ति उदाहरण हुनेछ र सिंगो नेपाल नयाँ बन्नेछ । हामीले जनयुद्ध केवल नेपालको मात्र लागि गरेका थिएनौं । त्यो संसार भरीका उत्पीडित वर्गको निम्ति पनि गरेका थियौं । त्यसैले नेपालमा गरिने क्रान्ति केवल नेपालको निम्ति मात्र नभएर यसको विश्वव्यापी आयाम छ ।

जुनसुकै चरणमा पनि जनतासँगको गहिरो सम्बन्धको महत्व हुन्छ । राष्ट्र, जनता वर्ग सबैको लागि हो यो पार्टी । हजारौं साथीहरुको बलिदानले र जनतासँगको गहिरो सम्बन्धले नै हामीलाई यो ठाउँमा ल्याएको हो । फेरी नेपालबाट नयाँ विचारको आविश्कार सम्भव छ । म आफूलाई मूल नेतृत्वको हैसियतले जनयुद्ध भन्दा कम सक्रिय छैन । मेरो आफ्नो पुरा जीवन विचार निर्माणमा केन्द्रीत रह्यो, त्यसपछि पार्टी एकता गर्ने, जनयुद्ध तयारी गर्ने र जनयुद्ध सञ्चालन गर्नै मै व्यस्त भयो । त्यसपछि शान्ति प्रक्रियामा मौलिक ढंगले सफल पार्नमा लाग्यौं ।

Surkhet-schoolinf-2

संविधान बन्ने बेलासम्म पनि नेतृत्व हामीले नै ग¥यौं । हामी विश्वभरिका उत्पीडित मानव जातिलाई नयाँ विचार दिने विषयमा हामी अगाडि बढ्यौं । हामी विश्वभरीका मुक्तिकामी जनताको मुक्तिको अठोट लिएर हिँडेका मानिसलाई सानो तिनो कुराले रोक्दैन, छेक्दैन ।  हामीले विचार, नीति नेतृत्वलाई एक ठाउँमा केन्द्रीत गर्ने संकल्प गरेका छौं । तपाई हामी सबैले यो संकल्प ग¥यौं भने हामीले यहाँ त विजय हासिल गछौं नै यसको अलावा संसारलाई समेत नयाँ सन्देश दिन सक्छौं । तपाईसँगै म यही अपिल गछौं ।’

बैठकमा प्रदेशका इन्चार्ज क. जनार्दन शर्मा ‘प्रभाकर’ले ६ नं. प्रदेशको अगामि कार्ययोजना पेश गर्नुभयो । त्यस्तै स्थायी समिति सदस्य तथा केन्द्रीय उत्पादन विभागका इन्चार्ज क. लोकेन्द्र विष्टमगर ‘अभ्यास’ले उत्पादन सम्बन्धी प्रशिक्षण दिनुभयो ।

पार्टीका स्थायी समिति सदस्य प्रदेशका इन्चार्ज क. जनार्दन शर्मा ‘प्रभाकर’को अध्यक्षतामा बसेको बैठकको संचालन पार्टीका पोलिट्व्युरो सदस्य तथा प्रदेश समिति सचिव काली बहादुर मल्लले गर्नुभएको थियो । बैठकमा प्रमुख अतिथि अध्यक्ष क. प्रचण्ड, अतिथिहरु उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव कृष्णबहादुर महरा अमरसिंह, स्थायी समिति सदस्य क. लोकेन्द्र विष्ट मगर अभ्यास रहनुभएको थियो ।

माघ १९, २०८१ शनिबार ९:५५:३९