काठमाडौं, ३० पुस । अध्यक्ष क. प्रचण्डले समाजवादको आधारका लागि तल्लो तहमा मजदूर र किसानको संयन्त्र निर्माण गर्नुपर्ने बताउनु भएको छ । राजधानीको बबरमहलमा अाज पार्टीको ३ नम्बर प्रदेशको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा नेता—कार्यकर्ताहरुलाई सो कुरा बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘समाजवाद निर्माणको अभियानका लागि जनतामा गएर नै सहिद तथा बेपत्ता योद्धाहरुको सपना पुरा गर्न सकिन्छ ।’ अध्यक्षले अबका हाम्रा संस्कृति र अर्थनीति समाजवादी क्रान्ति उन्मुख हुनुपर्ने बताउनु भयो । केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको आधार तयार पारेको र सोही आधारमा बिचारको विकास गर्न जरुरी भएको अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले भन्नुभयो, ‘०७३ सालको अन्त्यसम्ममा महाधिवेशन अघि समाजवादी क्रान्तिको वैचारिक संश्लेषण गर्नुपर्छ ।’
अध्यक्षले एमाओवादी पार्टी रुपान्तरण नभए राष्ट्रको भविश्य पनि नरहने बताउनु भयो । अहिलेसम्मका प्रदेशका बैठक तथा प्रशिक्षणहरुमा नेता कार्यकर्ताका साथै जनतामा उत्साह आएको अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले भन्नुभयो, ‘विज्ञान र कलाको प्रयोग गरी संविधान जारी भएकाले हामीप्रति जनताको विश्वास पलाएको छ ।’ अध्यक्ष प्रचण्डले संविधान बन्न नदिन धेरै घेराबन्दी र चलखेलहरु परास्त गरी संविधान जारी गरेको बताउनु भयो ।
‘हामी जस्तो सुकै दुःख पनि सहन तयार छौं तर राष्ट्रको शिर झुक्न दिन्नौं,’ उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वको सानो गल्तिले पनि पार्टी बिग्रने र त्यो गल्ति सच्चाउँदा पार्टी बन्ने रहेछ ।’
अध्यक्षले पार्टीको संगठन निर्माणमा ध्यान केन्द्रित गर्न र जनताका उत्पादन क्रियाकलापमा सहभागी बन्न कार्यकर्तामा निर्देशन गर्नुभयो । उहाँले अहिलेको मुख्य चुनौति अब संगठन निर्माण रहेको बताउनु भयो ।
अध्यक्षले अगाडि भन्नुभयो, ‘माओवादी भनेको पहिचान हो । हामीले जनता र राष्ट्रको पक्षमा जिम्मेवारीबोध गर्नुपर्छ । पार्टी भनेको पद्दति हो । अब हामी पद्दतिमा जानुपर्छ । अब सबै माओवादी क्रान्तिकारीहरुलाई एकजुट बनाउनु पर्छ । बिचार र राजनीतिमा एकमत भएर नै पार्टी एकता हुन्छ । ’
अध्यक्षले काँग्रेसलाई पनि सरकारमा सामेल गराएर राष्ट्रिय सहमतिको सरकारमा आउन आव्हान गर्नुभयो । उहाँले भन्नुभयो, ‘काँग्रेस सरकारमा सहभागी भए संविधान कार्यान्वयन र राष्ट्रिय स्वाधीनताका लागि सहज हुन्छ । तीन पार्टीबीच मधेसको समस्या समाधान गर्न छलफल भइरहेको छ ।’
उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ प्रकाशले पनि प्रशिक्षण कार्यक्रममा आफ्ना धारणा राख्नुभएको थियो । महासचिव तथा प्रदेशका इन्चार्ज क. कृष्णबहादुर महराले संगठन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । प्रदेश इन्चार्ज क. कृष्णबहादुर महराको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा स्थायी समिति सदस्य क. लोकेन्द्र विष्ट मगर, सल्लाहकार समितिका संयोजक क.नन्द कुमार प्रसाई, पोलिट्व्यूरो सदस्यहरु लिलामणी पोखरेल, शशी श्रेष्ठ, झक्कु सुबेदी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रशिक्षणकोे सञ्चालन पार्टी पोलिट्व्यूरो सदस्य तथा प्रदेश सचिव क. नारायण दाहालले गर्नुभएको थियो भने स्वागत पार्टी पोलिट्व्यूरो सदस्य झक्कु सुबेदीले गर्नुभएको थियो ।