समुदायको विविधतालाई स्थापित गरेर मात्र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिन्छ:प्रधानमन्त्री

२१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सकिन्छ । यही यथार्थलाई आत्मसात् गर्दै मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने मैले विश्वास लिएको छु ।

शुभकामना

नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय छ । नेपाल संवत् नेपालको मौलिक संवत् हो । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता शंखधर शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो । शंखधर शाख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तक हुनुहुन्थ्यो । नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याउनुभएको योगदान हामी सबैका लागि प्रेरणादायी छ ।

२१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सकिन्छ । यही यथार्थलाई आत्मसात् गर्दै मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने मैले विश्वास लिएको छु ।

अन्त्यमा, नेपाल संवत् ११४४ को अवसरमा फेरि एकपटक सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गर्दछु । न्हूदँया भिन्तुना !

२८ कार्तिक २०८०
पुष्पकमल दाहाल ‘प्रचण्ड’

कात्तिक ७, २०८१ बुधबार ८:८:५४