सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताउनुभएकाे छ ।

परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको ‘परराष्ट्रनीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयको छलफल कार्यक्रममा उहाँले भारत र चीनलगायत विश्वका सबै देशसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो ।

“अबको परराष्ट्रनीति सबै राजनीतिक दलको साझा नीति हुनुपर्ने र त्यसमा सबै राजनीतिक शक्तिको मतैक्यता हुनुपर्छ, विगतमा जस्तो एकातिर फर्कने र अर्कातिर ढल्कने हुनुहुन्न”, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डताजस्ता विषय परराष्ट्रनीतिका अपरिवर्तनीय पक्षलाई बिर्सन नहुने अभिमत प्रकट गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

उहाँले नेपालले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न अन्तर्राष्ट्रिय सहायता आवश्यक पर्ने बताउँदै सबैभन्दा पहिले नेपालको राष्ट्रिय हित र स्वार्थलाई सर्वोपरि मानेर परराष्ट्रनीति एवं कूटनीति सञ्चालन गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार ८:१३:४५