कैलाली, ३ माघ । अध्यक्ष प्रचण्डले सिंगो राष्ट्रलाई एमाओवादीले मात्र नयाँ दिशा दिनसक्ने बताउनु भएको छ । आज कैलालीको धनगढीमा आयोजित ७ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘यसको निम्ति मूल नेतृत्वदेखि सबै तहका नेताहरुले त्याग गर्न जरुरी छ, विगतबाट शिक्षा लिऔं, भविश्यको निम्ति अगाडि बढौं ।’
अध्यक्षले संकल्प गरेर अगाडि बढे कसैले हराउन नसक्ने बताउनु भयो । अहिले मधेस आन्दोलनलाई सहमतिमा ल्याउने, नाकाबन्दीको समस्या हल गर्ने, भूकम्पबाट भएको क्षतिको पुर्निर्माण लगायतका कामहरुमा आफूहरु केन्द्रीत भएको उहाँको भनाई थियो
उहाँले सबै माओवादी पार्टीहरु बीच एकीकरण अनिवार्य भएको बताउँदै अन्य क्रान्तिकारी कम्युनिष्टहरुलाई पनि ध्रुविकृत गर्नुपर्नेमा जोड दिनुभयो । पहिलो संविधान सभाको पूर्व सन्ध्यामा विरोधीहरुले हामीलाई निकै न्यूनिकरण गरेर हेरेका थिए, जनताले उनीहरुको मनोगतवादी अनुमान असफल बनाईदिए, अब जनतासँगको सम्बन्ध सुदृढ गरौं, हामी शक्तिशाली बन्ने छौं,– उहाँले भन्नुभयो ।
अध्यक्षले २ वर्षमा १ नम्बरको पार्टी बनाउन बुर्जुवाहरुले छरेका भ्रमहरु चिर्न र वैचारिक रुपमा दक्ष बन्न मुखपत्र प्रकाशित गर्ने, स्कूलिङ सञ्चालन गर्ने, कार्यशाला चलाउने, जनतासँग उत्पादनमा जोडिने, कार्यकर्ता व्यवस्थापन गर्ने, घाइते अपाङहरुका निम्ति अक्षयकोष खडा गरी उपचारको व्यवस्था गर्ने, सहिद, बेपत्ता परिवारका निम्ति व्यवस्था गर्ने, किसानहरुलाई पेन्सनको व्यवस्था गर्ने कार्यक्रमहरु रहेको बताउनु भयो ।
उहाँले देश अब अर्को चरणमा प्रवेश गरेको बताउँदै हिजो कै पार्टीले नपुग्ने बताउनु भयो । ‘नयाँ ढंगको पार्टी र समाजवादी क्रान्ति गर्ने क्रान्तिकारी पुनर्निर्माण गर्न जरुरी छ,’ अध्यक्षले भन्नुभयो, ‘विगतमा चौम, मशाल, मसाल, एकताकेन्द्र आदि पार्टीहरु भत्काएर नयाँ नयाँ पार्टी बनायौं, त्यसैगरी एमाओवादी बनायौं, अब यही एमाओवादीले समाजवादी क्रान्ति सक्दैन, यो पार्टीलाई पनि भत्काएर नयाँ पार्टी निर्माण गर्ने हो । मालेमावाद दर्शन बाहेक अरु दर्शनले जनताको मुक्ति सम्भव छैन ।’