स्थानीय जनप्रतिनिधिहरुलाई माओवादी केन्द्रको प्रशिक्षण

भदौ ६, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट विजयी बनेका स्थानीय जनप्रतिनिधिहरुलाई तीन दिने विषयगत प्रशिक्षण सञ्चालन गरेको छ ।
आइतबार, सोमबार र मंगलबार गरी तीन दिनसम्म सञ्चालन गरिएको प्रशिक्षणात्मक कार्यशालामा विज्ञहरुले विभिन्न विषयमा प्रशिक्षण सञ्चालन गर्नुभएको थियो भने राजनीतिक विषयमा शीर्ष नेताहरुले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिका प्रमूख र उपप्रमूख एवं अध्यक्ष र उपाध्यक्षहरु सहभागी हुनुहुन्थ्यो ।
प्रशिक्षणमा स्थानीय विधान र कानून सम्बन्धि सांसद एवं संविधानविद रामनारायण बिडारी, वित्तीय स्रोत व्यवस्थापन र राजश्व संकलन डा. नारायण बहादुर थापा, समाजवादउन्मूख अर्थराजनीतिक रुपरेखा डा. हरि रोका, स्थानीय सरकार सञ्चालन डा. मुक्ति रिजाल, योजना तथा बजेट डा. मीनबहादुर श्रेष्ठ, लेखा व्यवस्थापन र खरिद प्रक्रिया जनक बराल, कार्यालयमा पूर्वाधार व्यवस्थापन र साधन स्रोतको व्यवस्थापन सांसद हितराज पाण्डे, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग रामनारायण बिडारी, सुशासन, जनशक्ति व्यवस्थापन र परिचालन विषयमा सांसद जनकराज जोशीले प्रशिक्षण दिनुभएको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको प्रशिक्षणमा आगामी निर्वाचन र यसको तयारी नारायणकाजी श्रेष्ठ, नेतृत्व कला र जनसम्बन्ध रामबहादुर थापा ‘बादल’, स्थानीय तहमा महिला सहभागिता र नेतृत्व विकास रेखा शर्मा, स्थानीय तहमा शिक्षा र स्वास्थ्य गीरिराजमणि पोखरेल र स्थानीय जनप्रतिनिधि नभएका स्थानमा पार्टीको भूमिकाका विषयमा डिआर पौडेलले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा मन्त्रीहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, महेन्द्रबहादुर शाही, आशा खनाल लगायतले आफ्ना मन्त्रालयबाट स्थानीय तहमा सञ्चालन गर्न सकिने सेवा प्रवाहका विषयमा जानकारी दिनुभएको थियो ।
प्रशिक्षणको समापन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहलाई स्थानीय निकाय बनाउने खतरा रहेको औल्याउँदै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुले नमूनायोग्य काम गर्नुपर्ने बताउनु भयो । प्रशिक्षणमा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र ८५ स्थानका प्रमूख, उपप्रमूख र जिल्ला समन्वय समितिमा निर्वाचित प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

कात्तिक १०, २०८१ शनिबार १४:२०:४