हामीले निर्वाचनका क्रममा गरेका बाचा बिर्सेका छैनौंः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूले निर्वाचनका क्रममा गरेका बाचालाई नबिर्सेकाे उल्लेख गर्दै सोही बाचाअनुसार काम धमाधम अगाडि बढिरहेको बताउनुभएकाे छ । चितवनको माडी नगरपालिका–९ स्थित बॉदरझुलामा बिहीबार नागरिकता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बॉदरझुलाका नागरिकहरूलाई नागरिकता वितरण गरिनु यसको सुरूवात भएको बताउनुभयाे । ‘मैले भूमीसुधार मन्त्री र राष्ट्रिय भूमी आयोगका पदाधिकारीहरूलाई भनिसकेको छु, ठोस योजना बनाएर लालपूर्जा वितरण गर्नुस्’ उहाँले भन्नुभयाे ।

रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीहरूमा पक्कीपुल, र सडक कालोपत्रेको काम धमाधम भैरहेको छ, अध्यक्ष प्रचण्डले भन्नुभयाे, सुकुमबासी बस्ति हनुमान झुलामा बिजुली बत्ति विस्तारका लागि काम भैरहेको छ, अब छिट्टै यस क्षेत्रमा बिजुली बल्छ ।’ उहाँले भूमिहीन सुकुम्बासीको नागरिकता सम्बन्धी समस्यालाई वर्तमान सरकारले हल गर्ने गरी काम अगाडि बढाएको बताउनुभयाे ।

एक अर्काे प्रसंगमा अध्यक्ष प्रचण्डले पूर्व प्रधानमन्त्री ओलीले माडीमा प्रपोगान्डाको लागि राम मन्दिरको बनाउने घोषणा गरेको बताउनुहुँदै ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको बताउनुभयाे । माडी नगरपालिका वडा न ९ को बॉदरझुलामा माडी नगरपालिका र जिल्ला प्रशासन चितवनको संयूक्त आयोजनामा नागरिकता वितरण कार्यक्रम भएको छ । ७३ बर्षिय हरिमायॉ प्रजालाई नागरिकता हस्तान्तरण गरेर अध्यक्ष प्रचण्डले कार्यक्रमको उद्धाटन गर्नुभएकाे थियाे ।

फूलमायॉ प्रजाले ७२ बर्षको उमेरमा अध्यक्ष प्रचण्डको हातवाट नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिनुभएकाे थियाे । अर्की ७४ बर्षीया कृष्णमायॉ घलानले नागरिकता हातमा पाउँदा दङ्ग पर्दै अब आफूले बृद्धभत्ता पाउनेमा खुसी व्यक्त गर्नुभयाे । सो अवसरमा ७३ बर्षीया हरिमायॉ प्रजा ,७२ बर्षिया फूलमायॉ प्रजा लगायत ५ जनालाई नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

कात्तिक ८, २०८१ बिहीबार १६:६:३८