‘हाम्रो पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना रहेको पार्टी हो’ (भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र नै क्रान्तिकारी पार्टी भएको बताउनुभएको छ । रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले अगाडि भन्नुभयो, “‘फेरि पनि देशमा भएका पार्टीहरू मध्ये हाम्रो पार्टीमात्र हो विचार र राजनीतिको प्रश्नलाई उच्च प्राथमिकतामा राखेर सामाजिक र सांस्कृतिक रूपान्तरण र संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर समाजवादको यात्रा गर्नुपर्छ इमानदारिता साथ भन्ने र विचलन हुँदाहुँदै पनि यो पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना रहेको पार्टी हो ।”

पछिल्लो समय नेताहरू व्यक्तिवादी र आत्मकेन्द्रित बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्षले भन्नुभयो, “हामी अलिकति बिग्रेका छौँ । हामी हिजो जस्तो छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ, स्वार्थी भएका छौँ । क्रान्ति, समाज र राष्ट्रका निम्ति त्याग गर्नेतिर भन्दा पनि नेताहरू आफ्नै निम्ति कसरी गर्ने भनेर उद्धत हुन थालेका छौं ।”

“हामी सामूहिक भावना र टिम स्प्रीटबाट जानेभन्दा पनि स्वार्थ समूह बनाउनेतिर उद्धत हुन थालेका छौँ,” उहाँले थप्नुभयोे, ‘यसले पार्टीको वर्ग चरित्र र क्रान्तिकारी स्प्रीटमा नराम्रो स्खलन आएको छ । हामीले भर्खरै महाधिवेशन सम्पन्न गरेर फेरि क्रान्तिकारी पार्टी नै बनाउने संश्लेषण त गरेका छौँ तर हामी विचारमा, किताबमा, दस्तावेजमा र मुखमा क्रान्तिकारी नै भए पनि हाम्रो व्यवहार हाम्रो आचरण दैनिकी त्योसँग मिल्दैन । हाम्रो भनाइ र गराइमा ठूलो अन्तर आइसकेको महसुस हुन्छ ।”

अध्यक्ष प्रचण्डले यो समस्यालाई हल गर्न सकिएन भने आफूहरू ‘क्रान्तिकारी हौं’ भन्ने औचित्य समाप्त हुने स्पष्ट गर्नुभयो । उहाँले लेनिन र माओले क्रान्ति गर्दाको जस्तो आजको अवस्था नभएको पनि जिकिर गर्दै वर्ग संघर्षको अवस्थामा र पुँजीवादको विकासको चरणमा धेरै फरक आइसकेको बताउँदै माक्र्सवादलाई विकसित गरेर आजको आवश्यकता अनुसार परिमार्जन गर्न चुनौती रहेको बताउनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार ८:७:३६