१२८ औं मई दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको शुभकामना सन्देश

सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकारको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ ।
आफ्नो अधिकारका लागि एकतावद्ध सङ्घर्षमार्फत् विजय हासिल गरेको यस गौरवपूर्ण विश्व मजदुर÷श्रमिक दिवसको शुभकामना व्यक्त गर्न पाउँदा मलाई खुसी लागेको छ । १२८ औं विश्व मजदुर दिवसको यस अवसरमा म सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी तथा कामदार वर्गहरुलाई हार्दिक बधाई दिँदै यस दिवसले मजदुरको हक, हित र अधिकार स्थापित गर्न योगदान गर्ने विश्वास व्यक्त गर्दछु ।
नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरिएको छ । श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधार समेत हुन् । देशमा श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रूपान्तरण सम्भव रहँदैन । तसर्थ, नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको हो । संवैधानिक व्यवस्थापनलाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको महत्वपूर्ण पक्ष हो । त्यसैले श्रम सम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरुप्रति समेत सरकार प्रतिवद्ध रहेको छ ।
हाल देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि बिदेशिने क्रम बढिरहेको छ । स्वदेशमा रोजगारीको प्रर्याप्त अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन नेपाल सरकार क्रियाशील रहेको छ । स्वदेशमा रोजगारीको प्रर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमको रुपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई विदेशमा जाने कामदारहरुको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागि परेको म यस अवसरमा स्मरण गराउन चाहन्छु ।
अन्तमा, विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि टे«ड युनियनहरु श्रमिकहरुको हकहित संरक्षणका निम्ति संगठित, सक्षम, पेशामूखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकोमा खुसी व्यक्त गर्दै मे दिवसको यस सुखद् अवसरमा सम्पूर्ण मजदुर तथा श्रमिक नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्दछु ।

१८ वैशाख, २०७४
पुष्पकमल दाहाल ‘प्रचण्ड’

कात्तिक ६, २०८१ बुधबार १:९:५