२०७१ माघ ११ गते एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभा भवनबाहिर सञ्चारकर्मीसँग व्यक्त गर्नुभएको धारणाको पूर्णअंशः

आजको दिन जसरी संविधानको मूल मर्म, नियम र परम्पराविरुद्ध सभाध्यक्षबाट जसरी प्रस्ताव प्रस्तुत भयो त्यो सामान्य प्राविधिक कुरा मात्रै नभएर यसले संविधानसभाको मूल मर्ममाथि प्रहार गरेको छ । यसले शान्ति सम्झौताको सम्पूर्ण भावनामाथि तरबार उज्याएको छ । यसले विगतमा भएका सहमति–सम्झौता र अन्तरिम संविधानको मर्ममाथि पनि प्रहार गरेको छ । आजको यो निर्णय बस्तुतः यसले संविधानसभाभित्र एउटा ठूलो विभाजन गर्दै सिंगो समाजलाई विभाजित गर्ने र दुईवटा कित्तामा बाँड्ने काम गरेको छ । यसले नेपालको ऐतिहासिक र युगान्तकारी परिवर्तनलाई पछि धकेल्ने, प्रतिगमनतिर लैजाने र देशलाई नराम्रो द्वन्द्वमा फसाउने प्रक्रियाको सुरुवात गरेको छ ।

यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको भावनाको विरुद्ध जो महाभूल आज भएको छ सबै नियम, परम्परा, मान्यता मिचिएको छ । सभाध्यक्ष एउटा पार्टीको प्रवक्ताको रुपमा प्रस्तुत भएका छन् । उनको तटस्थता, नैतिकता र गरिमा आज ध्वस्त भएको छ । संविधानसभाको औचित्यमाथि नै आज प्रश्न उठाउने काम भएको छ । हामी १९ दलको तर्फबाट यसको प्रतिवाद गर्दै आएका थियौं र निरन्तर सहमतिको भावनाअनुसार हिजो शान्ति सम्झौता, मधेश आन्दोलनका क्रममा भएका सम्झौता, जनजाति आन्दोलन, दलित, महिला, मुस्लिम र सबै वर्ग–समुदायसँग भएका सहमति अनुसार संविधान बनोस भनेर हामीले निरन्तर प्रयत्न ग¥यौं । प्रतिगमनतिर लैजाने र देशलाई फेरि अर्को द्वन्द्वतिर लैजाने कामलाई रोक्नको निम्ति हामीले प्रयत्न ग¥यौं ।

अन्ततः बढो विचित्रसँग संविधानसभाभित्र सयौंको संख्यामा मर्यादापालक परिचालन गरेर, यसलाई एउटा ब्यारेकमा परिणत गरेर, जबर्जस्ती नियम मिचेर देशलाई द्वन्द्वमा लैजाने जो प्रक्रियाको सुरुवात भएको छ हामी यसको अन्तिम समयसम्म प्रतिवाद गर्नेछौं । हामी आम नेपाली जनताको बीचमा गएर एउटा ठूलो प्रतिक्रान्ति, प्रतिगमन, फेरि निरंकुशतातर्फ धकेल्ने र यो देशको मुठ्ठीभर सामन्तहरु, दलालहरु र अभिजात वर्ग, एउटा त्यस्तो वर्ग जसले उच्च जातीय अहंकारवादलाई प्रदर्शित गरेको छ त्यसका विरुद्ध नेपाली जनतालाई हामी अपिल गर्नेछौं यो प्रतिगमनका विरुद्ध । र यो प्रतिक्रान्तिकारी हर्कत जो गरिएको छ त्यसले नेपाली जनता जसमा हजारौं शहिदहरु, वेपत्ता योद्धाहरु, घाइते, अपाङ्गहरु र लाखौं–करोडौं जनताको भावनामाथि प्रहार भएको छ । हामी जनताको बीचमा गएर यसको प्रतिवाद गर्नेछौं ।

एउटा कलंकको टिको आज सभाध्यक्षले पनि लगाउनुभएको छ । अघिल्लोपटक हामी ठूलो पार्टी थियौं, मेरो हातमा दुईतिहाई बहुमतको हस्ताक्षर भएको फाइल पनि थियो । म आफैं विवाद समाधान उपसमितिको त्यतिबेला संयोजक पनि थिएँ । त्यतिबेला एउटा बैठक राख्नुहोस, तपाईं अध्यक्षको कर्तव्य हुन्छ भन्दा बैठक नराख्ने यही सभाध्यक्ष हुनुहुन्छ । सिङ्गै तीन वर्ष बाँकी छ संविधानसभाको अवधि तर जबर्जस्ती पार्टी प्रवक्ताको रुपमा उहाँले नियम कानुन मिचेर जे काम गर्नुभएको छ यसको परिणाम राम्रो हुने छैन । अब निस्कने, नेपाली समाजलाई विभाजित गरेर, संविधानसभालाई विभाजित गरेर देशलाई फेरि एकचोटी द्वन्द्वमा धकेलेर निक्लने कुनै पनि परिणामको जिम्मेवार नेपाली कांग्रेस, एमाले र सभाध्यक्ष हुनुपर्छ । त्यो भनिएको पाँच दिनको केही अर्थ छैन । हामी जनताको बीचमा जान्छौं । जनताको फैसला हाम्रो लागि सर्वोपरी हुन्छ ।

कात्तिक ६, २०८१ बुधबार ५:२३:०