गणतन्त्रलाई जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकता छ: प्रधानमन्त्री

हामीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रुपमा स्थापित गर्न पहल गरिरहेका छौं । नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न समावेशी तथा समानुपातिक प्रतिनिधित्वको सिद्धान्त र नेपाल राज्यलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित गरेका छौं । विश्वब्यापीरुपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको छ । यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकता छ ।

 

शुभकामना

गणतन्त्र दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु । महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता तथा घाइते अपाङ्ग योद्धाहरुसहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

जनताको बीरतापूर्ण सङ्घर्षबाट हामीले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको पन्ध्र वर्ष पूरा भएको छ । यसबीचमा हामीले संविधानसभाबाट संविधान जारी गरी गणतन्त्रलाई संस्थागत गर्ने सवालमा दुईपटक सबै तहको निर्वाचन सफल पारेका छौं र जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन गर्ने सर्वाेत्तम लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै लगेका छौं । संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत् जनताले पाउने आधारभूत सेवाहरु सहज बन्दै जानु, सयौं वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र सँस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरुको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधारहरु हुन् ।

हामीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रुपमा स्थापित गर्न पहल गरिरहेका छौं । नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न समावेशी तथा समानुपातिक प्रतिनिधित्वको सिद्धान्त र नेपाल राज्यलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित गरेका छौं । विश्वब्यापीरुपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको छ । यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकता छ ।

यस बीचमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षडयन्त्र पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरु कदापी सफल हुने छैनन् । लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव छ भन्ने कुरा पछिल्ला दिनका कतिपय घटनाक्रमले पुष्टि गरिसकेका छन् ।

त्यसैले हामी संविधानले निर्दिष्ट गरे अनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासन सहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु जरुरी छ । सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरी राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन म सबैमा अपील गर्दछु ।

अन्त्यमा, गणतन्त्र स्थापना र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने महान शहीदहरू, अग्रज राजनेता र राजनीतिक कार्यकर्ताहरू, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरू, लोकतन्त्र र गणतन्त्रप्रति आस्थावान सबैमा सम्मान व्यक्त गर्दै आजको दिवसले शहीदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको सपनालाई साकार पार्न हामी सबैलाई प्रेरणा प्रदान गरोस भन्ने कामनाका साथ पुनः गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

१५ जेठ २०८०

पुष्पकमल दाहाल “प्रचण्ड”

कात्तिक ६, २०८१ मंगलबार २३:४८:२६