अध्यक्ष प्रचण्ड र नेता डा. भट्टराईबीच भेट

श्रावण २८, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेटबार्ता भएको छ ।
अप्रेसनपछि आराम गरेर बस्नुभएका नेता भट्टराईलाई भेट्न अध्यक्ष प्रचण्ड शनिबार दिउँसो टोखास्थित भट्टराईले आराम गरेको निवासमा पुग्नुभएको थियो । २ घण्टा लामो छलफलमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो ।
भेटमा अध्यक्ष प्रचण्डले पूर्व माओवादी र अग्रगामी धाराहरु बीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई आग्रह गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको नेता भट्टराईलाई जानकारी गराउनु भएको थियो ।
भेटमा नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने प्रस्ताव गर्नुभएको थियो । दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको छ ।

कात्तिक ९, २०८१ शुक्रबार १४:१५:१६