अध्यक्ष प्रचण्डद्वारा गोपाल ठाकुरको संग्रह “जनता के गीत गावत रहेम” लाेकार्पण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा जनगायक गोपाल ठाकुरको गीतिसंग्रहको विमोचन गरिएको छ । आज खुमलटारमा उनले ठाकुरको पुस्तक विमोचन गरेका हुन । लेखक डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत संग्रहको लोकार्पण गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उक्त गीति संग्रहको लोकार्पण गर्नुभएको हो।

पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गीत संग्रहमा श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रीत गरेर लेखिएका गीतहरु समावेश गरिएको आफूले पाएको बताउनुभयो । पार्टी र संगठनको जिम्मेवारी इमान्दारिपूर्वक पूरा गर्ने ठाकुरले रचना सिर्जनाको माध्यामबाट जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो।

ठाकुर वर्गीय र वैचारिक रुपले श्रमजीवी वर्गप्रति समर्पित लेखक भएको चर्चा गर्दै प्रचण्डले बहुआयामिक प्रतिभाको धनी भए पनि क्षमताअनुसार उहाँलाई सबैले आत्मसात् नगरेका हुन् भन्ने आफूलाई लागेको बताउनुभयो। ‘उहाँ पिछडिएको भनिने समुदायबाट आउनुभएको छ, सोही वर्गको प्रतिनिधित्व गर्दै रचना सिर्जना गर्नुहुन्छ, प्रचण्डले भन्नुभयो, ‘सायद यहीँ कारणले पनि मानिसहरुले उहाँको बहुआयामिक क्षमताको जति आत्मसात् गर्नुपथ्र्यो त्यति आत्मसात गर्न नसकेको जस्तो मलाई लाग्छ।’

भोजपुरी भाषामा रहेको पुस्तक ‘जनता के गीत गावत रहेम’को अर्थ म जनताको गीत गाइरहनेछु भन्ने रहेको लेखक डा. गोपाल ठाकुरले बताउनुभयो। पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीतहरु समावेश गरिएको छ। अधिकांश गीतहरु लोक लयमा आधारित रहेको र केही गीतहरु आफूले संगीत राखेर रेकर्ड गर्ने तयारी भइरहेको ठाकुरले बताउनुभयो।

वैचारिक रुपले प्रगतिवादी धारामा केन्द्रीत रहेर गीतहरु लेखिएको भन्दै ठाकुरले पछिल्लो समयमा भोजपुरी भाषामा देखिएका विकृति र अतिलाई कम गर्न आफूले प्रगतिवादी धारामा आधारित गीत संगीत सिर्जनामा विशेष जोड दिइरहेको बताउनुभयो।

‘भोजपुरीलाई केहीले अति व्यावसायिकताको नाममा अश्लीलता फैलाउने काम गरिरहेका छन् भने अर्को अतिवाद रुपमा अध्यात्मको नाममा अर्कै माहोल खडा गरिएको छ, ठाकुरले भन्नुभयो, ‘यी दुवैबाट अतिबाट भोजपुरी कला संस्कृतिलाई बचाउँदै व्यवहारिक र सांसारिक जीवन व्यवहारमा आधारित गीत संगीतहरु सिर्जना गरिनुपर्दछ भनेर मैले अभियान नै सञ्चालन गरिरहेको छु।’ यहीँ अभियानमा आधारित गीतहरु नै आफ्नो गीत संग्रह भोजपुरी जनगीत मालामा राखिएको ठाकुरको भनाई छ।

पुष १३, २०८१ शनिबार १५:३१:४९