गठबन्धन जुन उद्देश्यका लागि निर्माण भएको त्यसै अनुसार अघि बढ्नु पर्छः अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले लोकतान्त्रिक तथा अग्रगामी शक्तिहरुबीचको एकतामा समेत जोड दिँदै जुन उद्देश्यका लागि गठबन्धन निर्माण भएको त्यसको मूल स्पिरिट अनुसार अघि बढनुपर्ने बताउनुभएको छ । जनयुद्धका प्रथम सहीद दिल बहादुर रम्तेलको सम्झना तथा सहिद सप्ताहका अवसरमा दलित मुक्ति मोर्चाले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गत वर्ष संविधान र लोकतन्त्रमा आक्रमण भएर प्रतिगमन निम्त्याएको कदमलाई आम नेपाली जनताले प्रतिरोध गरेर प्रतिगमन परास्त गरेको सन्दर्भ स्मरण गराउनुभयो ।


जनताको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि फेरि प्रहार हुने खतरा बढेको उहाँको भनाई थियो । गत वर्ष संविधान र लोकतन्त्रमा आक्रमण भएर प्रतिगमन निम्त्याएको कदमलाई आम नेपाली जनताले प्रतिरोध गरेर प्रतिगमन परास्त गरेको सन्दर्भ उल्लेख गर्दै प्रचण्डले अहिले भने एमसिसीका कारण फेरी उपलब्धि खोसिने र प्रतिगमन ब्यूँतिने खतरा रहेको बताउनुभयो ।

“गत वर्ष संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि घात गर्ने पात्र र प्रवृत्ति देखा पर्यो । त्यसविरुद्ध लाखौं जनता, बुद्धिजीवि, नागरिक समाज, पत्रकार सबैले संघर्ष गरेपछि देशव्यापी आन्दोलनको बलमा त्यो परास्त बन्यो ।” अध्यक्ष प्रचण्डले भन्नुभयो, “तर अहिले एमसिसीका कारण कतै लामो संघर्ष र मेहनतपछि प्राप्त उपलब्धि र उपेक्षित उत्पीडित जनताका अधिकारहरु गुम्ने त हैन भन्ने खतरा उत्पन्न भएको छ । ”

“हामीले प्रतिगमनकारी कदमका विरुद्ध गठबन्धन र सरकार गठन गर्यौं । एउटा नयाँ संकल्पका साथ प्राप्त उपलब्धिको रक्षा गर्ने र उपेक्षित एवं उत्पीडित जनताका प्राप्त हुन नसकेका अधिकार स्थापित गर्दै समृद्धीतर्फ अघि जाने समझदारीका साथ अघि बढ्यौं ।” उहाँले भन्नुभयो, “त्यतिबेला त्यहाँ एमसिसी हाम्रो ऐजण्डा थिएन । सरकारको न्यूनतम साझा कार्यक्रममा समेत एमसिसी थिएन । हामीले यथास्थितिमा परिमार्जन नभईकन, यसमा कतिपय संशय बाँकी नै रहेको अवस्थामा पारित गर्न सकिन्न भन्ने साझा धारणा समेत बनायौं । तर आज यही एमससीका कारण प्रतिगमनकारी हावी हुने त हैनन् भन्ने खतरा उत्पन्न भएको हो ।”

अध्यक्ष प्रचण्डले नेपालका राजनीतिक आन्दोलनमा दलितलगायत हजारौं लाखौं उपेक्षित र उत्पीडित जनताको बलिदानीपूर्ण कीर्तिमानका कारण अहिलेका उपलब्धि प्राप्त भएको बताउनुभयो ।

त्यतिखेर पनि जनयुद्दलाई सिध्याउन देशी विदेशी प्रतिक्रियावादीहरुले निकै कोशिस गरेको बताउँदै उहाँले भन्नुभयो, “तर जनयुद्ध उनीहरुले सोचेजस्तो रोकिएन बरु आम उपेक्षित वर्गको समर्थनसँगै देशैभरि झांगिन पुग्यो । यसकै बलमा संविधानसभा मार्फत संविधानको निर्माण भयो र सापेक्षिकरुपमा उपेक्षित वर्गका कैयन अधिकार प्राप्त गर्न हामी सफल भयौं । तर अहिले फेरि परिवर्तन नचाहने यथास्थितिवादी प्रतिगामी तत्वहरुले षडयन्त्र शुरु गरेका छन् ।”

कात्तिक ६, २०८१ बुधबार ५:१६:४८